आकस्मिक महाधिवेशन बोलाएर नेतृत्व लिन तयार छु: अर्जुन बम

0
Shares

काठमाडौं । नेताको गोजिबाट नेपाल विद्यार्थी संघको नेतृत्व चयन गर्न लागिएको भन्दै संघका केन्द्रीय सदस्य अर्जुन बमले आपत्ती जनाएका छन् । नेविसंघको मातृ पार्टी नेपाली कांग्रेसले आफ्नो संगठनको टिका लगाएर नेतृत्व छनोट गर्न लागेको नेता बमको आरोप छ ।

केन्द्रीय सदस्य बमले पार्टी नेतृत्वले नेविसंघका नेता कार्यकर्ता र लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप गर्न खोजेको भन्दै नेविसंघको आकस्मिक महाधिवेशन बोलाएर विद्यार्थीको माझबाट आफू नेविसंघको नेतृत्व लिन तयारी रहेको समेत खुलासा गरेका छन् ।

उनले रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानिमा भने,‘संघको महाधिवेशन पार्टीको निर्देशन अनुसार होईन, संघको विधान अनुसार हुनुपर्ने हो, तर संघको नेतृत्वले काम गर्न नसकेपछि पार्टीले केही भूमिका खेलेको हो, कात्तिक दोस्रो साताभित्र महाधिवेशन गर्ने भनियो तर आजको दिनसम्म पनि कुनै काम भएका छैनन्, संघीय ढाचा अनुसार संघको नेतृत्व चयन भएको छैन् ।’

उनले भने,‘३२ वर्षे विधान बनेपछि उमेर कटेका र संघमा रहेका काम गरेका नेता कार्यकर्ताहरुले अबरोध गरिरहेका छन्, पार्टीले महाधिवेशन नगरेर खल्तीबाट नेतृत्व चयन गर्ने आशंका बढ्दो छ, चेतावनि दिन चाहन्छु कसैको खल्तीबाट आएको नेतृत्वलाई स्वीकार गरिने छैन्, महाधिवेशन हुनै पर्छ, यदि त्यसो हुदैन भने विद्यार्थीकोबीचबाट संघको नेतृत्व लिन म तयार छु ।’

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक दोस्रो सातालाई प्रस्ताव गरिएको थियो । संघकोे कात्तिक १६ देखि १८सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेका भएपनि आजका दिनसम्म संघले तयारी थालेको देखिदैन । पाटीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिको परामर्शमा संघले मिति तोके पनि आवश्यक तयारी अझैसम्म अघि बढाएको छैन ।

संघका सभापति नैनसिंह महरको दुईवर्षे कार्यकाल भदौ पहिलो साता सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको थियो । यो अवधिभित्र महाधिवेशन सम्पन्न गर्न नसके संघ स्वतःविघटन हुनेछ ।

संघको प्रकाशित कार्यतालिकाअनुसार मावि र क्याम्पस अधिवेशन असोज ७, महानगर, उपमहानगर, नगर र गाउँपालिकाको अधिवेशन असोज १२, प्रदेश क्षेत्रको अधिवेशन असोज १५, ७७ जिल्ला र विदेशस्थित सम्पर्क समितिको अधिवेशन असोज २१ गते गर्ने प्रस्ताव थियो । । उपत्यका क्याम्पस अधिवेशन असोज २३, ७ प्रदेशको अधिवेशन कात्तिक १० र ११, केन्द्रीय अध्यक्षबाट महाधिवेशन प्रतिनिधिको मनोनयन कात्तिक १२ गते गर्ने प्रस्ताव छ ।