काठमाडौं । महिलामाथि हुने यौन दुर्व्यवहारबारे गत वर्षदेखि विश्वव्यापी रूपमा चलेको #MeToo अभियानको केही प्रभाव नेपालमा पनि परेको देखिएको छ ।
सामाजिक परिवेशमा केही हदसम्म समानता रहेको छिमेकी देश भारतमा समेत पीडित महिलाले एकपछि अर्को गर्दै आफूमाथिको दुर्व्यवहार गर्नेहरूको नाम लिइरहँदा नेपाली महिला चाहिँ खासै खुल्न सकेका छैनन्।
सामाजिक संरचना र यौन दुर्व्यवहारसम्बन्धी घटनामा देखिएको दण्डहीनताका कारण नेपालमा पीडकबारे खुलेर बोल्ने अवस्था नभएको कतिपय अधिकारकर्मीले बताएका छन्।
गत वर्ष खासगरी हलिवूडभित्र भएको यौन दुर्व्यवहारका घटना सार्वजनिक रूपमा देखापर्न थालेपछि त्यसले विश्वभरि #MeToo अर्थात् यौन दुर्व्यवहारको शिकार म पनि भन्ने अभियान शुरू भयो।
तरङ्ग
त्यसको तरङ्ग लगभग एक वर्ष पुगेपछि छिमेकी भारतसम्म आइपुग्यो। विभिन्न पेशा व्यवसायमा काम गर्ने केही महिलाले खुलेरै सामाजिक सञ्जालमा आफूमाथि दुर्व्यवहार गर्नेहरूको नाम सार्वजनिक गरे।
राज्यमन्त्रीदेखि, प्रख्यात कलाकार र पत्रकार समेत उक्त अभियान अन्तर्गत आरोपितको सूचीमा परे र तीमध्ये कतिपय पदबाट राजीनामा दिन बाध्य भए। नेपालमा पनि कैयौँ महिलाले आफूहरू यौन दुर्व्यवहारमा परेको भन्दै त्यसता घटनाबारे बोल्न थालेको केही समय भयो।
केही महिलाले आफ्ना सहकर्मीबाट दुर्व्यवहारमा परेका घटना सार्वजनिक गरेका छन्। तर अझै पनि दुर्व्यवहार गर्ने व्यक्ति को हो भनेर खुलाएका छैनन्।
त्यसको कारण केलाउँदै सञ्चारकर्मी बबिता बस्नेत भन्छिन्, दण्डहीनता यसको मुख्य कारण हो। पीडा दिएका अथवा अपराध गर्ने व्यक्तिलाई कारबाही नभएकोले मानिसहरुलाई विश्वास छैन।
आफूले भोगेको पीडाभन्दा पनि त्यो अपराध गर्ने व्यक्तिलाई कारबाही हुँदैन किन भनिरहने भनेर पनि यो विषयमा मौनता छाएको हो । केही साताअघि पूर्वसञ्चारकर्मी मीना कैनीले पत्रकार भएर काम गर्दा मौखिक र साङ्केतिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको सामाजिक सञ्जालमा लेखेकी थिइन्।
विवरण
पत्रकार सुबिना श्रेष्ठले पनि समाचार सङ्कलनका क्रममा उनीमाथि भएका दुर्व्यवहारबारे सामाजिक सञ्चालमा र पछि एउटा दैनिक पत्रिकामा पनि त्यस्ता विवरणहरू खुलाएर लेख नै लेखिन् ।
तर दुवैले पीडकको विवरण भने खुलाएनन् । लेखक सरला गौतमले पनि #MeToo अभियानलाई समर्थन गर्दै आएकी छन्। करिब १२ वर्षअघि रेडियोमा काम गर्दा त्यहाँका हाकिमले दुर्व्यवहार गर्न खोजेको शङ्का गरेपछि त्यसको प्रतिवाद गरेको स्मरण गर्दै गौतमले भनिन्, एउटा अन्तर्वार्ता अनुवाद गरुँ सर भन्दा उहाँले ुयो अन्तर्वार्ता हामी कतै पर गएर गर्नुपर्छु भन्नुभयो।
तर त्यो मेरा लागि स्वीकार्य भएन र त्यो काम गरिनँ। भोलिपल्ट देखि उहाँलाई नमस्कार गर्न पनि छाडेँ। सामाजिक सञ्जालमा चलेको अभियान र यसले निम्त्याएको बहसले पनि समाजमा ल्याएको तरङ्गलाई सकारात्मक मान्नुपर्ने अधिकारकर्मी राधा पौडलेको भनाइ छ।
उनी भन्छिन्, यो अभियानलाई समर्थन गर्दै आफ्नो पीडा सार्वजनिक गरेका सबैले न्याय पाएका छैनन्। तर यो महिलाको समस्या हो भन्ने धारणामा परिवर्तन आउँछ र सबैलाई यौन दुर्व्यवहारविरुद्ध बोल्ने वातावरण बनाउँछ। कार्यालय वा अन्य स्थानमा भएका हिंसाबारे महिलाले यसरी बोल्न थाल्नुलाई धेरैले सकारात्मक मानेका छन्।
किटान
तर पनि त्यस्ता घटनाको कानूनी उपचार लिन लामो समय गुजार्दा न्याय पाउने सम्भावना कम हुँदै जाने कानूनका जानकारहरू बताउँछन्।अधिवक्ता सबिन श्रेष्ठले भने, पीडकलाई समाजमा सार्वजनिक गर्ने कुरालाई यो अभियानले मद्दत गर्छ। तर घटना भएको धेरैपछि कानूनी प्रक्रियामा जान उजुरी दर्ता गर्ने, हदम्यादको कारण र प्रमाण जुटाउनका लागि पनि गाह्रो हुन्छ।
तर आफूले भोगेका यौन दुर्व्यवहारबारे मुख खोल्नका लागि महिलामा पहिले सशक्तीकरण जरुरी रहेको धेरैको बुझाइ छ। त्यही कारण यस्ता घटना प्रकाशमा ल्याउन समय लाग्ने बस्नेत बताउँछिन् ।
त्यसमा पनि नेपाली समाजमा पीडकको नामनै किटान गर्ने गरी महिलाहरू सशक्त हुन अझै केही समय लाग्ने देखिएको अधिकारकर्मी पौडेलले बताइन् । पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको प्रहरी आँकडाले देखाउँछ ।
यस्तो अवस्थामा आफूमाथि भएको हिंसाबारे यसअघि मौन रहने गरेका महिलाहरू सार्वजनिक रूपमा बोल्दा पनि पीडकलाई सचेत गराउने कतिपयको बुझाइ छ।
तर बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तका परिवारले न्याय पाउन नसकेको अहिलेको अवस्थामा राज्यले पीडितलाई न्याय दिने संयन्त्र बलियो नबनाउँदासम्म यस्ता अभियानले तात्विक असर पार्न नसक्ने बुझाइ अर्काथरीको रहेको पाइन्छ। बीबीसी




प्रतिक्रिया