काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेकपाका प्रभावशाली नेता हरिबोल गजुरेलले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा एसपी डिल्लीराज बिष्टलाई निलम्बन वा बर्खास्त गर्ने तर घट्नाको चुरोसम्म पुग्न नसके गृहमन्त्रालयको असक्षमता हुने बताएका छन् ।
मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छनमा “पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”बलात्कारपछि हत्या गरिएको यत्रो जघन्य अपराधको अनुशन्धानमा गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ । उनीहरुलाई त्यहाँबाट बर्खास्तमात्रै गरिँदैछ भने त्यो बलीको बोको हुन्छ । तर, त्यसलाई अझै अगाडि बढाईन्छ भने त्यो एउटा प्रक्रियापनि त हो नि ।”
उनले प्रहरीलाई बर्खास्त गर्नु ठीक भएपनि उनीहरुको संलग्नता कहाँ कहाँ हो भन्ने कुरा बाहिर आउनुपर्ने पनि बताए । उनले भने,”अहिले बर्खास्त गर्न लागिएका प्रहरीले घट्नालाई किन दबाउन खोजे ? त्यसमा के रहस्य थियो भन्ने कुरा त बाहिर आउनुपर्यो नि। कारबाही गरेरमात्रै समस्याको समाधान हुँदैन । बास्तविक हत्यारा पत्ता लगाउनुपर्छ । अब कारबाहीको प्रक्रियासँगै त्यहाँ पुग्न सक्यो भने गृहमन्त्रालयको सक्षमता भयो । यदि पुग्न सकेन भने असक्षमता हो ।”




प्रतिक्रिया