मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?


काम गर्न नसक्ने, संवादहिनतामा बस्ने अनि सभापतिलाई काम गर्न दिएन भन्ने ?

कात्तिक ७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले भने, “जनताले खोजेको सुशासन, भ्रष्टाचारको अन्त्य, दण्डहिनताको अन्त्य, महङ्गी नियन्त्रण जस्ता काम सरकारले गर्न सकेन । सरकार कहाँ किन अलमलिन थाल्यो थाहा छैन ।”

सरकारले संघीयताको मर्मअनुसार पनि काम गर्न नसकेको कोइरालाले बताए । प्रदेश नम्बर २ को सरकार र केन्द्र सरकारबीचको द्धन्द्ध हुनु दुखद भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीले उचित समन्वय गर्न नसकेको आरोप लगाए ।

“२ नम्बर प्रदेश र केन्द्र सरकारबीच वाकयुद्ध चलिरहेको छ । यो कुरामा प्रधानमन्त्री के कारणले उदासिन हुनुहुन्छ बुझ्न सकेको छैन ।” उनले भने ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को सरकारलाई ओभरटेक नगर्न दिएको चेतावनी अधिकारबाहिरको कुरा भएको कोइरालाले बताए ।

“दाहाललाई बोल्ने अधिकार छैन । उहाँ सरकारमा हुनुहुन्न । अर्को कुरा पार्टीको अध्यक्षले त्यसरी बोल्ने होइन । यो सबै केन्द्र सरकारले मिलाउनुपर्छ । दाहालले यसरी वाइयात कुरा गर्न मिल्दैन ।” कोइरालाले भने ।

कम्युनिष्ट सरकारले संघीयता नै नचाहेकाले यो अवस्था आएको उनको जिकिर छ । अरु प्रदेशका मुख्यमन्त्री पनि समस्या रहेको तर नेकपाबाट चुनिएका सांसदहरु मुख्यमन्त्री भएकाले मुख खोल्न नसकेको उनको तर्क छ ।

केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार र कर्मचारी दिन नसकेकाले अहिलेको समस्या आएको कोइरालाले बताए ।

यस्तै अवस्था रहिरह्यो भने संघीयता असफल हुने भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने कोइरालाले बताए ।

नेता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका केही गल्तीका कारण चुनावमा पराजित हुनुपरेको बताए ।

सभापतिलाई अधिकार दिने नाममा निरङ्कुश बन्न दिन नहुने कोइरालाको तर्क थियो । देउवाप्रति आक्रोषित देखिएका कोइरालाले पार्टीलाई उचित तरिकाले संचालन गर्न नसकेको आरोप लगाए ।

“पदाधिकारी चयन गर्न कसले रोकेको थियो ? तर दुई वर्ष लगाउनुभयो । उहाँलाई काम गर्न कसले रोकेको छ ? उहाँसँग त बहुमत पनि छ ।”

काम गर्न नसक्ने, संवादहिनतामा बस्ने अनि सभापतिलाई काम गर्न दिएन भन्ने ? उनले प्रश्न गरे ।