राजपाका शीर्ष नेताहरु एक्कासी किन पुगे सर्लाही ? आन्दोलन गर्ने चेतावनी


सर्लाही, ८ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शिर्ष नेतृत्वले राजपा नेपाल देशको तेस्रो ठूलो पार्टी भएकाले वैकल्पिक शक्तिको रुपमा एक ढिक्का भएर अगाडि बढ्ने बताएका छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा गोडैतामा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा नेपालसँग सरकारले गरेको सहमति अनुसार संविधान संशोधन नगरेकोमा आक्रोश पोखे ।

उनले रेशम चौधरीको रिहाई, झुठा मुद्दा फिर्ता लगायतको माग पूरा गरिएन भने कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए ।

त्यस्तै अध्यक्ष मण्डलका अर्का सदस्य शरदसिंह भण्डारीले महाधिवेशनबाट राजपा नेपाल एक ढिक्कामा बाँधिने विश्वास व्यक्त गरे ।

अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले गोडैता नगरपालिकालाई यस क्षेत्रकै नमूना नगरपालिकाको रुपमा विकास गरिनुपर्नेमा जोड दिदैं उखु किसानको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने विश्वास दिलाए ।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले संविधान संशोधन भएन भने पुनः आन्दोलनका लागि तयार रहन सबैमा आग्रह गरेका थिए ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्र यादवले नगरपालिकाको बगदहमा निर्माण भइरहेको चिनी मिलमा पचास प्रतिशत नगरवासीलाई रोजगार दिनुपर्नेमा जोड दिए ।