तनहुँ, ९ कात्तिक । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन गरेको छ ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिको सदस्यहरूमा इञ्जिनीयर धु्रव पण्डित, सन्तोष श्रेष्ठ, केबी थापा, सुशीला शर्मा, आशा दरै रहनुभएको छ भने समितिको विशेषज्ञ सल्लाहकारमा तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ तथा सदस्य–सचिवमा नगरपालिकाका शाखा अधिकृत विमल गिरी चयन हुनुभएको छ ।
बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा नगरस्तरीय समुदाय–प्रहरीपालिका समितिसमेत गठन गरेको छ । सो समितिको सहसंयोजकमा नगरपालिकाका उपप्रमुख मीरा जोशी र जिल्ला प्रहरी कार्यालयका जेष्ठ प्रहरी अधिकृत रहनुभएको छ भने सदस्यमा व्यास नगरपालिका–१० का अध्यक्ष तुलसीराम सापकोटा रहनुभएको छ ।
बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विविध कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरी पठाउने निर्णय गरेको अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साथै विपद् व्यवस्थापनका लागि हरेक वडाबाट एक÷एक जना कर्मचारीसमेत सहभागी हुने गरी अग्नि नियन्त्रण टोली र नगर प्रहरी गरी २४ जनालाई तालीम प्रदान गर्ने, सामुदायिक विद्यालय एकीकरण प्रक्रियालाई अगाडि बढाउन आवश्यक गृहकार्यका लागि नगर शिक्षा समितिमार्फत सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्राकृतिक प्रकोपबाट १२ ले ज्यान गुमाए
प्राकृतिक प्रकोपबाट तनहुँ जिल्लामा एक वर्षको अवधिमा १२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा बाढी÷अबिरल वर्षा, चट्याङ, हावाहुरी, आगलागीबाट १२ जनाको मृत्यु भएको हो ।
बाढी र अबिरल वर्षाका कारण छ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । त्यस्तै चट्याङबाट दुई जनाले ज्यान गुमाएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।
हावाहुरी र असिनाबाट एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । त्यस्तै आगलागीबाट तीन जनाले ज्यान गुमाएका र तीन घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा आगलागीका कारण ८६ चौपायाको मृत्यु भएको र १४ चौपाया घाइते भएका थिए ।
प्राकृतिक प्रकोपका कारण ३३ घर र २३ गोठमा क्षति पुग्नुका साथै रु एक करोड पाँच लाख सात हजार बराबरको भौतिक संपति क्षति भएको प्रहरीले जनाएको छ । हावाहुरी र असिनाले ११ घरमा क्षति पुगेको आगलागीबाट २२ घर नष्ट भएको थियो । रासस




प्रतिक्रिया