काठमाडौँ, ९ कात्तिक । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ ।
ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोजिरहेको जानकारी प्राप्त भएको छ।
सूर्यविनायक नगरपालिका–८ को सिपाडोलको तौडोल, सूनपा–४ को चित्रपुर तथा सूनपा–९ पलासे महत गाउँको डोलमा टोलीले स्थलगत अध्ययन गरेको हो ।
सूर्यविनायक नगरपालिका–१० र चाँगुनारायण नगरपालिका–९ कै भकारीमुलमा विगत लामो समयदेखि मन्त्रालयले अध्ययन तथा योजना बनाई प्राविधिक टोली खटाए पनि नेपाल मजदूर किसान पार्टीको विरोधका कारण अन्य स्थानको खोजी गरिएको हो ।
मन्त्री विश्वकर्माले तीन स्थानमा प्राविधक टोली खटाई उत्तम स्थानको छनोट गरी तत्काल निर्माण कार्य अघि बढाइने बताएका छन । उनले रङ्गशालाको स्थान टुङ्गोमा पु¥याइ निर्माण प्रक्रिया तत्काल शुरु गर्नुपर्नेमा जोड दिएका छन।
सांसद बस्नेतले नेमकिपाले भकारीमूलका जनताको मात्र नभई भक्तपुरका आम जनताको विकासप्रतिको भाग्य र भविष्यमाथि खेलवाड गरिरहेको दाबी गरे । उनले अन्तर्राष्ट्रिय रङ्गशाला, कबर्डहल, सभागृह, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, वीर अस्पतालजस्ता राष्ट्रिय गौरवका आयोजना भक्तपुरमै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेमकिपाका सांसद प्रेम सुवालले खेतीयोग्य जमीन तथा बस्ती उठ्ने गरी निर्माण गर्न लागिएको रङ्गशाला निर्माण हुन नहुने बताएका छन । रासस




प्रतिक्रिया