लोलाङमा ट्रकले किचेर मृत्यु भएकाको शव अझै उठेन, ट्रकपक्ष र प्रहरी मुकदर्शक


कात्तिक ९, काठमाण्डौ । ट्रकसँग सम्बन्धित पक्षले वेवास्ता गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएका दुई जनाको लाश अझै उठाइएको छैन ।

लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको थियो ।

गण्डकी ट्रक व्यवसायी समितिमा आवद्ध ट्रकले २ जनाको हत्या र एक जनालाई घाइते बनाएको थियो । तर गण्डकी ट्रक व्यवसायी समितिका कोही पनि प्रतिनिधी अहिलेसम्म घटनास्थलमा पुगेका छैनन् ।

प्रहरीले लासलाई सुरक्षा मात्रै दिएर बसेको छ । विहानै दुर्घटना भए पनि प्रहरी प्रशासन र ट्रक पक्षले वेवास्ता गर्दा लास उठ्न नसकेको स्थानीय कृष्ण खनालले बताए ।

केन्द्रिय राजधानी जस्तो ठाउँमा दुर्घटना हुँदा पनि मृतकको लास उठन् नसकेको भन्दै स्थानीले आक्रोष व्यक्त गरेका छन् ।

“अहिलेसम्म लास जस्ताको तस्तै छ । प्रहरीले सुरक्षा दिनेबाहेक अरु केही गरेको छैन । गण्डकी ट्रक व्यवसायी समितिको ट्रक रैछ । अहिलेसम्म समितिका मान्छे आएका छैनन् ।” खनालले भने ।

“विहान नौ बजेको घटना हो । वार्ताका लागि आफन्तलाई बालाजु चौकीमा मृतकका आफन्तलाई लगे पनि ट्रक समिति पक्षका कोही पनि आएनन् ।”

अहिलेसम्म ट्रकका चालकसमेत पक्राउ नपरेको खनालले बताए ।