आज राति एल क्लासिको, कस्तो होला मेस्सी र रोनाल्डोबिनाको भीडन्त ?

0
Shares

काठमाडौं, ११ कात्तिक । एल क्लासिको आज राति हुँदैछ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा साबिक विजेता बार्सिलोना र रियल मड्रिड आमने–सामने हुँदैछ । तर, आजको यो महासंग्राममा भने दशक यताकै सर्वाधिक रुचाईएका खेलाडीद्धय लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो भने खेल्नेछैनन् ।

स्पानिस जाईन्टबीचको यो भीडन्त बार्सिलोनाको मैदान क्याम्प नाउमा हुँदैछ । तर आइतबार राति हुने एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै हुनेछ । किनकी रोनाल्डो यही सिजन रियल मड्रिड छोडेर इटालियन सिरी ए खेल्न युभेन्टस गएका छन्।

यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् । उनी अझै एक साता मैदान बाहिर रहनेछन् ।

यसको अर्थ एल क्लासिकाले रोनाल्डो र मेस्सी बिहीन हुँदैछ । रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद हुनेछैन । तर दुवै क्लबलाई यो सिजन अघिल्ला वर्षको भन्दा खराब अवस्थाबाट माथि जान महत्वपूर्ण हुनेछ ।

त्यसमाथि यही सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगीका लागि त एल क्लासिको भविष्य निर्धारकको रुपमा हेरिएको छ । रियलले पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेका कारण उनी दबाबमा छन् ।

झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुनेछ । रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ।

दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे । यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए ।

कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् । मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ । एजेन्सीको सहयोगमा