काठमाण्डौ । प्रदेश २ सरकारले प्रदेशको राजधानी र नामाकरण विषयमा सुझाव संकलन गर्न संवाद तथा सुझाव आयोग गठन गरेको छ ।
सरकार गठन भएको ९ महिनापछि स्थायी राजधानी र प्रदेश नामाकरण गर्न सुझाव आयोग गठन गरेको हो । प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश नीति आयोगका उपाध्यक्ष डा.हरिवंश झा संयोजक रहने गरी ३ सदस्यीय आयोग गठन गरेको छ ।
आयोगमा रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य रहेका छन् । आयोगको टोलीले राजधानी र नामको टुंगो लगाउन प्रदेश २ भित्रका विभिन्न स्थानमा गएर राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा आमजनतासँग सल्लाह र सुझाव संकलन गर्ने छ । उनीहरुबाट प्राप्त भएका सुझाव सहितको प्रतिवेदन आयोगले ४५ दिन भित्र पेश गर्ने छ ।
प्रदेश सरकार गठन भएको ९ महिना बितिसक्दा समेत राजधानी, नामाकरण र भाषाबारे सदनमा छलफलकालागि प्रतिपक्षी दलहरुसँगै सत्तापक्षका सांसदहरु समेत सरकारको आलोचना गर्न थालेपछि सरकारले उक्त आयोग गठन गरेको हो । अन्य प्रदेशहरुले नामाकरण र स्थायी राजधानी घोषणा गरिरहँदा लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारले अहिलेसम्म भाषा, राजधानीर नामाकरणबारे छलफल समेत चलाउन सकेको छैन ।




प्रतिक्रिया