काठमाडौं, १२ कात्तिक । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार राजधानीको वसन्तपुरमा राखिएको छ ।
वसन्तपुरमा प्रदर्शनीमा राखिएको ट्रफी हेर्न सयौँ क्रिकेट प्रेमी र स्थानीयबासी जम्मा भएका थिए । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको यो पहिलो पटक हो।

गत शुक्रबार साँझ काठमाडौं ल्याइएको ट्रफी यसअघि स्वयम्भू, पोखरा, चन्द्रागिरि र राष्ट्रपतिको कार्यालयमा राखिएको थियो । यो ट्रफी वसन्तपुर घुमाएपछि अपराह्न भारत लगिने भएको छ ।

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ।

विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराएको हो।

आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्याउने योजना छ। ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको हो।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया