भक्तपुर, १३ कात्तिक । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाएरै छाड्ने बताएका छन ।
जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको आर्थिक वर्ष २०७४÷०७५ मा स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यालय र गैर सरकारी संस्थाबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रथम समीक्षा बैठकमा उनले प्रत्येक नगरपालिकामा पक्की सडक विस्तार, धार्मिक पर्यटकीय गन्तव्यको विकास, प्रत्येक खोलामा पुल, हनुमन्ते करिडोर निर्माण, अन्तर्राष्ट्रिय रङ्गशाला र खेलकुदका लागि कबर्ड हल निर्माणको क्रम अगाडि बढिसकेको खुलासा गरेका थिए ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले विकासका सबै पूर्वाधार निर्माण गर्ने, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने, उज्यालो, सुरक्षित र शान्त भक्तपुर बनाउने अभियानमा हामी लागेको बताउँदै विकास विरोधीलाई परास्त गर्दै अबको चार वर्षमा भक्तपुरलाई नमूना जिल्ला बनाउने जानकारी गराएका थिए ।
जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न कार्यालयको रुपमा अगाडि लैजानुपर्नेमा पनि उनले जोड दिएका छन।प्रदेशसभा सदस्य शशीजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले जिल्लाको विकासमा सबै दल र सबै पक्षले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जिल्लाको समग्र विकासका लागि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिएका थिए ।रासस




प्रतिक्रिया