नेविसंघको कार्यसमिति अब विघटन हुन्छ : डा. महत


कात्तिक १४, काठमाण्डौ । नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाशशरण महतले नेपाल विद्यार्थी संघभित्र ठूलो विवाद नरहेको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले उमेरहदसम्बन्धी विवाद अनावश्यक भएको बताए ।

“विद्यार्थीको नेतृत्व विद्यार्थीले नै गर्न पाउनुपर्छ भनेर दुई वर्षअघि नै ३२ वर्षको उमेर हद तोकिएको हो । नेविसंघको महाधिवेनले नै विधान पारित गरेको हो । त्यसलाई पार्टीले अनुमोदन गरेको हो । त्यसैले विवाद गर्ने विषय होइन ।” महतले भने ।

अब निकट भविष्यमा नै अधिवेशन सम्पन्न हुने महतको जिकिर छ । विगतमा ७ वर्षसम्म पनि नेविसंघको महाधिवेशन हुन नसकेको स्मरण गर्दै महतले अहिले त्यस्तो अवस्था नरहेको बताए ।

नेविसंघको महाधिवेशन २ वर्षमा हुनुपर्ने भए पनि विधानमा आवश्यकताअनुसार ३ महिना समय थप्न पाइने भएकाले त्यही समय थप गरिएको महतले स्पष्ट पारे ।

थपिएको तीन महिनाभित्र महाधिवेशन हुन नसके नेविसंघको अहिलेको कार्यसमिति विघटन हुने महतले बताए ।

नेविसंघको अहिलेको कार्यसमितिको समयावधी भदौ २ गते सकिएको हो । तीन महिना थपेर मंसिरमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको थियो । तर मंसिरमा महाधिवेशन हुने सम्भावना पनि टर्दै गएको छ ।