विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं

0
Shares

काठमाडौं, १५ कात्तिक । नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो।

नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा–फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ। यसअनुसार सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली रहेको रिपोर्टले देखाएको छ। नेपालसँगै अफ्रिकी मुलुक डेमोक्रेटिक रिपलब्लिक अफ कंगो र युरोपेली मुलुक कोसोभो पनि ७९ स्थानमा रहेका छन्।

नेपाली पासपोर्टको श्रेणी सबैभन्दा कमजोर अवस्थाको पासपोर्ट रहेको अफगानिस्तानभन्दा ११ स्थानले मात्र माथि हो। ९० औं स्थानमा रहेको अफगानिस्तानी पासपोर्टधारीले ५ मुलुकमा भिसाबिनै प्रवेश पाउँछन् भने २६ मुलुकमा आगमन भिसा पाउँछन् । १६७ मुलुकमा भिसा आवेदन दिएर प्राप्त गरेपछि मात्र प्रवेश अनुमति पाउन सक्छन्।

दक्षिण एसियाली मुलुक पाकिस्तान ८९ औं स्थानमा रहेको छ। बंगलादेश ८२, श्रीलंका ८०, भुटान ६८, भारत ६५, मालदिभ्स ५० औं स्थानमा परेका छन्। छिमेकी मुलुक चीन ५५ औं स्थानमा छ। भारतले गत वर्षको तुलनामा आठ स्थान फड्को मारेको छ।