काठमाडौं, १५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी छन् ।
भ्रमणकाक्रममा कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई भिसाबिना नै आवात–जावतको सहजीकरण गर्ने सम्भौता दुई देशबीच भएको छ । त्यस्तै, कृषि तथा खाद्य सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी सहमति पनि भएको छ । नेपाल र कतारबीच सहमति र समझदारीसम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रपति भण्डारीको कतार भ्रमणको दोस्रो दिन ती सम्झौता तथा सहमतिपत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीकाहकलाई प्रवेशाज्ञाबिना आवात–जावतको सहजीकरण गर्ने विषय र कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदान–प्रदानसम्बन्धी सहमति भएको हो ।

सहमतिपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका थिए ।
नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । पछिल्लो समय नेपाली कामदारहरुको मूख्य गन्तव्य पनि कतार बनेपछि सम्बन्धलाई बहुआयामिक बनाउनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रपति भण्डारीको भ्रमणले त्यसमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया