पार्टीभित्र देउवा घेराबन्दीमा, पौडेल समूहको गोप्य भेला सिंहको घरमा


काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रमक रुपमा प्रस्तुत भएको छ ।

आजमात्रै देउवाविरुद्ध एक भएर लड्ने प्रणका साथ पौडेल समूहले नेता प्रकाशमान सिंहको घरमा गोप्य भेला गरेको खुलासा भएको छ । देउवाले पार्टीभित्र एकलौटी गरेको आरोप लगाउँदै आएको पौडेल समूहले आजको भेलामा महासमिति बैठक कुनैपनि हालतमा तोकिएको मितिमा गर्न दबाब दिने पनि निर्णय गरेको छ ।

स्रोतका अनुसार सभापति देउवाले महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा महासमिति बैठक तोकिएको मितिभन्दा केही पर सार्ने निधो गरेको सुईंको पाएपछि पौडेल समूह आज एक्कासी आन्तरिक भेलामा जुटेको हो ।

पार्टीको विधान मस्यौदामा पनि सभापतिलाई असिमित अधिकारी प्रत्यायोजन गर्न लागिएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ । नेता प्रदिप पौडेलले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार देउवा नसच्चिए पौडेल समूह आक्रमक रुपमा प्रस्तुत हुनेछ ।