स्वस्थ जनता समृद्धिको आधारः मन्त्री बस्नेत

0
Shares

पोखरा, १६ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो ।

इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म चार करोड ५० लाख लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताउनुभयोे ।

उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको र आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको रु दुई करोड ३० लाख आर्थिक सहयोगमा साढे दुई तल्लेसुविधासम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रा डा सुवेदीलाई गाउँपालिकाको तर्पmबाट सम्मान गरिएको थियो ।

ट्रष्ट निर्माण

पोखरा महानगरपालिकास्थित बैदाम वडा प्रहरी कार्यालयको हातामा २५ लाख ४९ हजार ६७६ को लागतमा पाँचकोठे ट्रष्ट निर्माण गरिएको छ । समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न खट्ने नेपाल प्रहरीको भौतिक पूर्वाधारको अभावलाई महसुस गरी नागरिकको सक्रियतामा अर्थ सङ्कलन गरी प्रहरी ब्यारेक, भोजनालय र थुनुवा कक्ष निर्माण गरिएको हो ।

उक्त भवन प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले बिहीबार उद्घाटन गर्दै अपराध नियन्त्रणसहित समृद्ध समाज निर्माणमा सर्वसाधारणबाट हुने यस्ता सहयोगले प्रहरीको मनोबल बढाउने बताउनुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, व्यक्ति तथा प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । रासस