कात्तिक १८, काठमाण्डौ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन ऐन छिटै सार्वजनिक हुने जानकारी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पण्डितले ऐन कार्यान्वयनमा आएपछि कर्मचारी समायोजनामा देखिएका समस्या समाधान हुने बताएका छन् ।
पुष महिनाभित्र समायोजन ऐन बनिसकेर कार्यान्वयनमा आउने पण्डितले बताए । ऐनमा कर्मचारीलाई सेवाप्रति जवाफदेही र सक्रिय बनाउनेगरी ऐन बनेको उनले जिकिर गरे ।
“राष्ट्रसेवकहरुलाई संविधानले दिएको अधिकार प्रयोग गरेर आफ्नो इच्छा जाहेर गर्न पाउने गरी समायोजन गरिने व्यवस्था गर्छौँ ।” पण्डितले भने ।
कर्मचारीको मनोबल उच्च राख्ने गरी जिम्मेवार बन्न सहयोग पुग्नेगरी ऐन बन्ने मन्त्री पण्डितले बताए ।
“सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कर्मचारीलाई हुँदैन । सेवा सुविधाहरु थप गरेर अगाडि बढ्दैछौँ । ठग्ने प्रवृत्तिको अन्त्य हुने वातावरण सृजना गर्छौँ ।”
अबका दिनमा छलछाम र ठग्ने प्रवृत्ति भएका कर्मचारीलाई कडा कारबाही गरिने पण्डितले स्पष्ट पारे । सरकार संविधान, ऐन र कानुनअनुसार चल्ने उनले बताए ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता अक्षरंश पालना गर्नुपर्ने माग गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको थियो । तर मन्त्री पण्डितले भने सरकारले कर्मचारीसँग गरेको सम्झौताको विषय आफूलई जानकारी नभएको जवाफ दिएका छन् ।
शनिवार संघका केन्द्रिय उपाध्यक्ष कुमार राउतले कर्मचारीसँग खोसिएका परिचयपत्रहरु तत्काल सरकारले फिर्ता गर्नुपर्ने बताएका थिए । तर मन्त्री पण्डितले कर्मचारीको मागप्रति खासै चासो दिएका छैनन् ।




प्रतिक्रिया