रुपन्देहीको बेलहिया नाकामा बनाउने भनिएको आइसिपी निर्माण अन्यौलमा


रुपन्देही । नेपाल–भारत दुई देशको भू–भाग समेटेर रुपन्देहीको बेलहिया नाकामा बनाउने भनिएको एकीकृत भन्सार चेकपोष्ट (आइसिपी) निर्माण अन्यौलमा परेको छ । आयात–निर्यात सहज बनाउन भन्दै दुई देशका अधिकारीहरु बीच आइसिपी निर्माण गर्ने सहमति भएको थियो । तर बन्ने नबन्नेमा टुङगो लागेको छैन ।

१५ वर्ष अघि नेपाल–भारतका अधिकारीहरु बीच सहमति भएअनुसार भारत सरकारको लगानीमा दुई देशका मुख्य नाकाहरु नेपालगंज, विराटनगर, विरगंज र बेलहिया नाकामा एकीकृत भन्सार चेक पोष्ट (आइसिपी) निर्माण भइसक्नु पर्ने हो । तर, अहिले सम्म विरगंज बाहेक अन्य नाकामा आइसिपी निर्माण भएको छैन ।

नेपाल सरकारले भैरहवा स्थित बेलहिया नाका नजिक आइसिपी निर्माणका लागि जग्गा अधिग्रहण गरिसकेको छ । तर, भारतीय पक्षबाट अहिले सम्म कुनै प्रक्रिया अघि बढेकोे छैन ।

बेलहिया नाकाबाट दैनिक सयौं मालबाहक र अन्य सवारी भित्रिन्छन् । भन्सारमा प्रभावकारी पूर्वाधार नहुँदा काम गर्न लामो समय लागे पछि व्यवसायीहरु अहिले यो नाकाको विकल्पमा कृष्णनगर, सुठौली र महेशपुर नाका रोज्न थालेका छन् ।

अर्कोतर्फ नाकामा विभिन्न कारण देखाउँदै भारतीय सुरक्षाकर्मीको अवरोध जारी छ । आयातमुखी अर्थतन्त्र हुँदा मालबाहक गाडीहरु भित्रिने क्रम दैनिक बढ्दो छ । सवारी चाँप बढेपछि जाँचपास गराउन समेत धेरै दिन लाग्ने गरेको छ ।

आइसिपी निर्माण भएपछि कृषि तथा पशु क्वारेन्टाइन, आयात–निर्यात जाँचमा सहजता, दुई हजार सम्म गाडी अटाउने पार्किङस्थल, सुविधासम्पन्न भवन, अध्यागमन, पर्यटन कार्यालय, सुरक्षा चौकी, अटोमेटिक तौल काँटा लगायत भन्सारबाट हुने सबै काम एकै ठाउँमा हुन्छ । जसले व्यवसायीलाई सहजता हुन्छ भने अतिरिक्त चार्ज हट्दा उपभोक्ताका महंगीको मार पनि पर्दैन र राजश्व संकलन पनि बढ्छ ।