इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका छन् ।
इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले आइतबार काठमाडौंमा गरेको इलाम लगानी सम्मेलनसम्बन्धी कार्यक्रममा उनले संविधान निर्माणपछि स्थीरता कायम भएपनि कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका हुन् । नेता खनालले नीतिगत कमजोरी पन्छाउँदै लगानीमैत्री वातावरण तयार पार्न ढिला भइसकेको बताए ।
नेता खनालले विकास र समृद्धिमा सबैको ध्यानकेन्द्रित गर्नुपर्ने भन्दै विकासको व्यापक सम्भावना रहेको इलाममा पूर्वाधारहरुको निर्माण गरी लगानीलाई प्रोत्साहन गर्नेतर्फ सरकार लाग्नुपर्ने धारणा पनि राखे ।
त्यस्तै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रको समृद्धिका लागि निजी क्षेत्रबारे सरकारले प्रस्ट धारणा बनाउँदै उनीहरुलाई सहयोग गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले इलाममा यही कात्तिक २५ गते लगानी सम्मेलन आयोजना हुने जानकारी समेत दिएको छ । इलाममा लगानी प्रवर्धन गर्न इलाम नगरपालिकाका मेयर महेश बस्नेत संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ ।




प्रतिक्रिया