‘वर्तमान सरकारले ब्युरोक्रेसी हाँक्न सकेन’
‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामर्थ्य र आँटपनि छ’
काठमाडौं, २१ कात्तिक । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दापनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने,‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन् । दुई तिहाईको यत्रो शक्तिशाली सरकार छ, तर सरकार अलमलिएको छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले यस्तो बताएका हुन् । क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको टोलीसँग भने,‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन् । यो कुरा रहस्यमय छ । दक्ष टिम नभएर हो वा अरु के कारणले हो मलाई थाहा छैन, तर सरकारले काम गर्न सकेन् ।’
अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे । उनले भने,‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन् ।’ हिन्दूस्तानमा भाउ नबढेको तर नेपालमा ह्वात्तै बढेको भन्दै उनले सरकारले महँगी नियन्त्रण गर्नपनि नसकेको आरोप लगाए ।
उनले भने,‘त्यतिमात्रै होईन, सरकारले जनतालाई करको ठूलो बोझ बोकाएको छ । अब सरकारले जनतालाई सेवा प्रवाह गर्नेगरि आफूलाई ड्राईभ गर्नुपर्छ । प्रधानमन्त्री ओलीजीले त्यता ध्यान दिनुपर्छ ।’
उनले प्रधानमन्त्री ओलीलाई अब बोलेका कुरा पूरा गराएरै छोड्छु भनेर अठोटका साथ लागिपर्न पनि सुझाव दिए । उनले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताए ।
फरक प्रसँगमा उनले अब तीन वटै राप्रपा एक हुनेगरि छलफल अघि बढाईएको पनि जानकारी दिए । उनले भने,‘हामीबीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी छ । तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला भएको छैन् । लोहनीजीसँग मेरो हिजो धेरै राम्रो कुराकानी भएको छ ।’
उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने बताए । उनले भने,‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँटपनि छ ।’




प्रतिक्रिया