कर्मचारीतन्त्र असफल, त्यही भएर भनेजस्तो विकास भएन : अध्यक्ष मैनाली


काठमाडौं, २३ कात्तिक । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले वर्तमान कर्मचारीतन्त्र असफल भएको दाबी गरेका छन् ।

बिहीबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने,“नेपालको कर्मचारीतन्त्र असफल भयो । कर्मचारीहरु कामै नलाग्ने भए । मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन । कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो । यो राजनीतिकरणलाई खारेज गर्नुपर्छ ।”

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग कुरा गर्दै अध्यक्ष मैनालीले कर्मचारीमा काम, कर्तव्य र आफ्नो दायित्वप्रति जवाफदेहिता नदेखिएको आरोप लगाए । उनले भने,“काम नगर्ने कर्मचारीलाई हटाउनुपर्छ । जवाफदेही र सक्षम कर्मचारी भर्ना गर्नुपर्छ । कर्मचारीकै असक्षमताका कारण जति विकास हुनुपर्दथ्यो, त्यति हुन सकेन् । नेपालको कर्मचारीतन्त्रमा जत्तिको राजनीतिकरण विश्वमा अन्त कहीँपनि छैन ।”