शेरधन राईको अमेरिका भ्रमणले ल्याएको तरङ्ग, यस्तो छ रहस्य


कात्तिक २५, काठमाण्डौ । नेपालका नेताहरुको विदेश भ्रमण मोहले बेलाबेलामा विवाद सृजना हुने गरेको छ । देश र जनताका लागि भन्दा पनि व्यक्तिगत रहरले विदेश भ्रमण गर्दा नेता तथा मन्त्रीहरु आलोचनाको सिकार हुने गरेका छन् ।

पछिल्लो समय प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको अमेरिका भ्रमणले पनि विवाद र आलोचना बढाएको छ ।

उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेपछि विभिन्न टिका टिप्पणी भइरहेको छ । पछिल्लो समय नेता, मन्त्री तथा सरकारी कर्मचारीको मनपरी विदेश भ्रमण रोक्नका लागि नियम र निर्देशन कडा बनाइएको छ । तर यसको पूर्ण पालना भएको छैन । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ ।

कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति नलिएको आरोप छ । उनको भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको सार्वजनिक भएपछि मुख्यमन्त्री राईको आलोचना बढेको हो । उपचारका लागि निजी खर्चमा थाइल्यान्ड जाने भनिएको थियो ।

तर थाइल्याण्ड भ्रमण सकेर उनी अमेरिका पुगेका छन् । उपचार गर्न जाँदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउन नपरे पनि अमेरिका गएको विषयले विवाद बढेको हो । परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ । लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि गएका हुन् ।

यसअघि संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको थियो । अमेरिका भ्रमणका लागि अनुमति मागेका राउतलाई मन्त्रिपरिषद्को बैठकले अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक कुलप्रसाद कोइरालालाई पनि संघीय सरकारले क्यानडा जानबाट रोकेको थियो । कोइरालालाई त विमानस्थलबाट फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्याइएको थियो । उपकुलपति कोइरालामाथि विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीबाट भ्रमण आादेश स्वीकृत नगराएको आरोप लगाइएको थियो ।

भएका नीति र दिइएका निर्देशनको पूर्ण पालना नगर्ने परिपाटीले विदेश भ्रमणहरु विवादमा पर्ने गरेको छ ।