झलनाथले ओलीको आलोचना गर्दा सुवास नेम्वाङले गरे यसरी बचाउ

0
Shares

काठमाडौं, २७ कात्तिक । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको चाहनाबमोजिम काम गर्न नसकेको भनेर आलोचना गरेपछि उनीसँगै रहेका नेकपाका नेता सुवासचन्द्र नेम्बाङले भने प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् ।

हिजो सोमबार इलाममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै खनालले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भए पनि अहिले नै यसको आलोचना गर्ने बेला नभएको बताएका थिए ।

त्यस्तै, उनले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको पनि धारणा राखेका थिए । आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्म सबै एकताको कार्य गरिसकिने उनको दाबी थियो ।

खनालसँगै रहेका नेकपाकै उपनेता नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको भन्दै ओलीको बचाउ गरेका थिए । नेम्वाङले भनेका थिए, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।” उनले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको जिकिर गरेका थिए ।

(फाईल फोटो)