काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो निवासमा हालै आयोजना गरेको ‘लञ्च–मिटिङ’ को उद्देश्य पार्टीलाई एक ढिक्का गर्न रहेको भएपनि यो विषय अर्केतिर मोडिएको गुनासो पोखेकी छिन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरित काम गरेको र त्यसलाई रोक्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एकजुट हुने विषयमा छलफल गरेको बताईएपनि उक्त बैठकमा पार्टीलाई सुदृढ बनाउनेबारे छलफल भएको नेतृ कोइरालाले स्पष्ट पारिन् ।
नेतृ सुजाताले वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई सोमबार लन्चकालागि आफ्नो निवास मण्डिखाटारमा बोलाएकी थिइन्। लञ्मामा पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, र केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका नेता सहभागी थिए।
करिव डेढ घण्टा चलेको बैठकमा सभापतिले पछिल्लो समयमा विधानविपरित काम गरेको, पार्टीलाई एउटा गुटमा परिणत गरेको, एकलौटी ढंगले अगाडि बढेको भन्दै सभापतिका गलत कामकाविरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको बाहिर चर्चा भएको थियो । तर, बैठकमा पूवमहामन्त्री कृष्णप्रसाद सिटौला भने राजधानी बाहिर भएका कारण उपस्थिति थिएनन्।
रामचन्द्र पौडेलले धेरैपटक खाना खुवाउनेगरि बोलाउन आग्रह गरेको स्मरण गराउँदै सुजाताले भनिन्,‘उहाँले धेरै पहिलदेखि नै लञ्च वा डिनर मिटिङको लागि आग्रह गर्नुभएको थियो । तर, मैले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ भनेर नै यो भेलाको आयोजना गरेकी हुँ । यसको उद्देश्य नै पार्टीलाई चलायमान बनाउनको लागि थियो ।’
सबै नेताहरुसँग कुरा बुझौं भनेर बोलाएको उनले बताईन् । उनले भनिन्,‘सभापति देउवालाई घेराबन्दी गर्न खोज्यो भनियो । मेरो उद्देश्य संग्लो कांग्रेस बनाउने । विधान सर्वसम्मत बनाउने । तर, बाहिर चर्चा त कमजोर बनाउन गरियो । संस्थापनको विरोधमा पूर्व संस्थापन पक्ष लाग्यो भनेर भनियो । अब म स्वस्थ छु । म पछि सबै नेतालाई एकै ठाउँमा राख्छु । दुवै समूहलाई बैठकमा बोलाउँछु ।’
सभापति देउवाले पार्टीलाई विधिवत रुपमा नचलाएको भन्दै उनले गुनासो पोखिन् । उनले गुनासो पोखिन्,‘पार्टी चलाउँदा सबैसँग सल्लाह नै नगर्ने कुरा गलत हो । उहाँ गुटको सभापति नभएर समग्र पार्टीको सभापति बन्नुपर्छ ।’




प्रतिक्रिया