काठमाडौं, २९ कात्तिक । राजपा नेपालका शीर्ष नेताहरु यतिवेला तराइ मधेशमा छन् । छठ मनाउनको लागि जिल्ला जिल्ला पुगेका नेताहरु निर्वाचित सांसदहरुसँग सरकारलाई दिएको समर्थन फिर्ता लिने की समर्थन जारी राख्ने भन्नेबारे अहिले छलफलमा जुटेका छन् ।
तर, राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरु काठमाडौं फर्किएलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने जानकारी दिए ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘सरकारले संविधान संशोधनको काम एक रतिपनि अघि बढाएन् । अब, हाम्रो विश्वासको बाँध भत्किएको छ । हामी पार्टीको जुनसुकै बैठक डाकेर भएपनि समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’
राजपाका नेताहरु काठमाडौं फर्किएर सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला यसअघिपनि चलेको हो । अहिले अध्यक्ष मण्डलका सदस्यहरु मधेशबाट निर्वाचित आफ्नो पार्टीका सांसदहरुसँग अन्तरक्रिया गरिरहेका छन् । आज र भोलि उनीहरु निर्वाचित सांसदहरुसँगै छलफलमा व्यस्त हुनेछन् ।
राजपा नेपालका शीर्ष नेताहरु मंसिर २ वा ३ गते काठमाडौं फर्किने कार्यक्रम छ । उनीहरु फर्किनेबित्तिकै सरकारको समर्थन फिर्ता लिने तयारी पार्टीले गरेको स्रोतको दाबी छ ।




प्रतिक्रिया