पार्टी नेतृत्वले नेविसंघ कब्जा गर्ने होइन, निकास खोज्नुपर्छ : प्रदिप पौडेल


अहिलेको कार्यसमितिलाई महाधिवेशन आयोजक समितिको रुपमा जिम्मेवारी दिनुपर्छ : शुशील भट्ट

कात्तिक ३०, काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार मंसिर महिनाभित्र सम्पन्न गरिसक्नपर्ने भए पनि विभिन्न विवाद किचलोका कारण महाधिवेशन नहुन सम्भावना टरेर गएको छ ।

गत भदौमा नै सकिएको वर्तमान कार्यसमितिको समयावधी तीन महिना थपेर मंसिरसम्म लम्ब्याइएको थियो । तर मंसिरमा पनि महाधिवेशन हुन नसक्ने सम्भावना बढेपछि कांग्रेस केन्द्रिय समितिमा भोली छलफल हुँदैछ ।

कांग्रेसका नेता तथा नेविस्रघका पूर्व अध्यक्ष प्रदिप पौडेलले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटन नै हुने अवस्था नरहेको बताए । भोली बस्ने बैठकले कार्यसमितिको कार्यकाल बढाउन पनि सकिने पौडेलले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले नेविसंघको महाधिवेशन समस्याबारे निकास दिनका लागि बैठक बस्न लागिएको जानकारी दिदै पौडेलले छलफल गरेर निकासको बाटो खोजिने बताए ।

“विघटन नै निकास होइन । समझदारी खोजेर महाधिवेशन गर्नु नै मुख्य विषय हो । संघको कार्यसमिति विघटन गरेर आफूअनुकूलको व्यक्तिलाई जिम्मा दिने मनोविज्ञानले अब संगठन बन्दैन ।” पौडेलले भने ।

अधिवेशनका लागि पार्टीले अनुकूल वातावरण सृजना गर्नुबाहेक अरु विकल्प नरहेको पौडेलेको तर्क छ ।

“नेविसंघ विघटन गर्ने, आफूअनुकूलको नेतृत्व ल्याएर कब्जा गर्ने, नियन्त्रणमा राख्ने मानोविज्ञानले संगठन बन्दैन ।” पौडेलले भने ।

यसै सन्दर्भमा रिपोर्टस नेपाल डटकमसँग कुरा गर्दै वर्तमान कार्यसमितका सदस्य तथा भावी अध्यक्षका प्रत्यासी शुशील भट्टले टिका लगाएर कसैलाई नेतृत्व दिइए स्विकार्य नहुने बताए ।

६ महिनाका लागि ल्याइएको तदर्थ समितिले ६ वर्ष चलाएको विगत सम्झिदै भट्टले अहिलेको कार्यसमितिलाई आगामी महाधिवेशनको आयोजक समितिको रुपमा जिम्मेवारी दिन उचित हुने बताए ।

फागुनमा स्ववियु चुनावको समय पनि भएकाले यही कार्यसमितिलाई नेविसंघ महाधिवेशन र स्ववियु चुनावको तयारीका लागि जिम्मेवारी दिन सके प्रभावकारी हुने भट्टको तर्क छ ।

यसका लागि पार्टीले नेविसंघको विधान नियमावली र कार्यतालिका पास गरेर सहज बनाइदिनुपर्नेमा उनले जोड दिए ।