नेविसंघको महाधिवेशन गर्न नैनसिंह महरलाई नै जिम्मेवारी दिने सहमति !


काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ । हिजो बस्ने भनिएको बैठक नेविसंघको विवाद सल्ट्याउन नसक्दा आजलाई सारिएको हो ।

हिजो नेविसंघका सभापतिइतर समूहले प्रदर्शन र्गयो र स्थिति तनावपूर्ण बन्यो । पार्टी कार्यालयमा नाराबाजी भयो । सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहका नेताको छुट्टाछुट्टै बैठक भयो ।

अन्त्यमा आइतबार बस्नेगरी बैठक स्थगित गरिएको हो । कांग्रेस नेता महेन्द्र यादवले आजको बैठकमा नेताहरुबीच सहमति भएर एउटा निर्णय हुने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले नेविसंघ र पार्टीका बारेमा नेताहरु एक भएर अगाडि बढ्ने सहमति भइसकेको दावी गरेका हुन् ।

नेविसंघको अहिलेको कार्यसमितिले तीन महिना समय दिदा पनि महाधिवेशन गर्न नसकेकाले पुनः केही समय थप्ने सहमति भएको यादवले बताए । अहिलेको अवस्थामा नेविसंघ विघटन नगरिने यादवले स्पष्ट पारे ।

नेविसंघालाई यसअघि दिइएको तीन महिनाको अवधी आज सकिदैछ ।महाधिवेशन गर्नका लागि अहिलेका अध्यक्ष नैनसिंह महरलाई बढिमा तीन महिनाको समय दिने सहमति भएको यादवले बताए ।