पुनर्निर्माण प्राधिकरणले के गर्यो अहिलेसम्म ? ३ लाख घर अझै बनेनन्


काठमाण्डौ । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये करिब ३ लाख घरको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । अझै करिब २ लाख ६० हजार घर बन्न बाँकी नै छअझै करिब २ लाख ६० हजार घर बन्न बाँकी नै छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभित्रै निजि आवास पुनर्निर्माण कार्य सम्पन्न गर्ने दावी गरेको छ ।

भूकम्प गएको ४२ महिनाको अवधिमा करिब ३ लाख घर बने । भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये करिब ७ लाख २० लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् ।

त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख नाघेको छ । करिब २ लाख ७० हजार लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । गुनसो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ । नेपाल सरकारले बजेट कार्यक्रममार्फत् यस आर्थिक वर्ष्भित्र निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले हाल ७७ प्रतिशत निजि आवास पुनर्निर्माण कार्य भईरहेको भन्दै चालु आर्थिक वर्षभित्रै निजि आवास पुनर्निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।

ज्ञवालीले प्राधिकरण गठन भएको ५ बर्ष अर्थात अवको दुई बर्ष तीन महिनाभित्र पूननिर्माणको सबै काम सम्पन्न हुने जानकारी पनि दिए । पुरातत्व क्षेत्रको सम्पदाहरुको निर्माण कार्य पनि भईरहेको जानकारी दिदै ज्ञवालीले धरहरा र रानीपोखरीको निर्माण कार्य पनि अघि बढेको बताए ।

भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२÷७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको थियो ।

त्यसैगरी, २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भयो । चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ ।