अर्थ समितिले दियो सरकारलाई यस्तो निर्देशन


काठमाडौं, ५ मंसिर । अर्थ समितिले ठेकेदारका कारण समयमा सम्पन्न हुन नसकेका आयोजनाको विवरण र सम्बन्धित पक्षलाई कारबाही भए–नभएको रिपोर्ट सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ।

कारबाही गर्ने कानुनी आधार समेत पेश गर्न निर्देशन दिइएको छ। बुधबार बसेको समितिको बैठकले विगतमा ठेकेदारको कारणले विभिन्न अयोजना, कार्यक्रमहरु सम्पन्न हुन नसकेको भन्दै समितिले विवरण माग गरेको हो।

समितिका सभापति कृष्णप्रसाद दाहालले विवरणसँगै समयमा ठेक्का सम्पन्न नभएका योजनाहरु सम्पन्न नहुनुको कारण, जिम्मेवार पक्ष, थप समय अवधी र क्षतिपूर्ति वापतका रकमको विवरण समेत उल्लेख गरी रिपोर्ट बुझाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

उनकाअनुसार सात दिनभित्र विगतमा बहुवर्षीय ठेक्का सम्झौता भएका र सम्पन्न हुन बाँकी आयोजनाको विवरण, वहुवर्षीय ठेक्का सम्झौता भएकामध्ये संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने भनिएका योजनाको विवरण र हस्तान्तरणका आधार र मापदण्ड, बहुवर्षीय ठेक्काका अयोजनाका पछिल्लो अवस्था, गत वर्षको अख्तियारी, निकासा र रकमान्तरको समय, रकमसहितको विवरण, सम्बद्ध पक्षको नाम, पद र पूँजीगत खर्चको विवरण बुझाउन माग गरिएको छ।

तस्विर : मुकुन्द कालिकोटे