विप्लवले ओली-प्रचण्डबाहेक अरुसँग वार्ता नगर्ने


काठमाडौं, ६ मंसिर । नेत्रविक्रम चन्द विप्लवले सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक सम्बाद समितिका संयोजक सोमप्रसाद पाण्डेसँग नभएर सिधै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगमात्रै वार्ता गर्ने जनाएका छन् ।

उनले सरकारद्धारा गठित वार्ता समिति र यसका संयोजकसँगभन्दापनि सिधै ओली र प्रचण्डसँगमात्रै वार्ता गर्नेबारे जनाउ दिएका छन् । विप्लव अहिले अर्धभुमिगत रहेको भनिएपनि उनको पार्टीले भने यतिवेला उनी जनताको बीचमा रहेको दाबी गर्दै आएको छ ।

केही समय पहिले प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वार्ता टोलीका संयोजक पाण्डेले आफूहरु विप्लव समूहसँग वार्ताको लागि सम्वादमै रहेको जनाएका थिए । उनले भनेका थिए,”ऋषिजी हामीले ठ्याक्कै नेत्रविक्रम चन्दलाई भेटेका छैनौँ। तर उहाँका केन्द्रीय नेताहरुसँग पटक पटक छलफल भएको छ। उहाँहरुबाट वार्ताको विषयमा साकारात्मक रहेको सन्देश आएको छ। उहाँहरुले वार्ताको विपक्षमा नभएको बताउनु भएको छ।”