मंसिर ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद विरोध खतिवडाले केपी ओली नेतृत्वको सरकारले गरेको काम प्रभावकारी नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले सरकारका कामको समीक्षा गर्नुपर्ने बताए ।
विहिबार खतिवडासहित २२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गर्दै महासचिव विष्णु पौडेललाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
सरकार मात्र नभै पार्टीको सक्रियतासमेत कम हुँदै गएकाले ज्ञापनपत्र बुझाइएको खतिवडाले बताए ।
“सरकारले जुन गतिमा काम गर्नुपर्ने हो त्यो गति भएन । पार्टीको कमिटिका बैठक पनि निरन्तर हुन सकेको छैन ।” उनले भने ।
“विकास निर्माणका काम गर्न कसले रोक्यो ? डोजर चलाउन कसले रोक्यो ? सरकारी प्रशासन चलाउन कसले रोक्यो ?” उनले भने ।
सरकारको समीक्षा गर्दै तत्काल जनताको हितमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
“प्रधानमन्त्रीले चाहेअनुसारको कामको तिब्रता देखिएन । यसका पछाडि के कारण छन्, खोज्नुपर्छ । मन्त्रीहरुका कारणले पो हो की ? सचिव वा प्राविधिकहरुको भूमिका छ कि ? किला चुकुल फुस्किएको ठाउँ तत्काल पत्ता लगाएर सुधार गर्नुपर्छ ।” खतिवडाले भने ।
खतिवडाले प्रधानमन्त्री नै परिवर्तन गरेर केही नहुने भन्दै ओलीकै सपना पूरा गराउन सबै एकजुट हुनुपर्ने बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको सरकारको विरोधलाई भने उनले प्रतिपक्षीको धर्मको रुपमा लिएको बताए ।




प्रतिक्रिया