विप्लव माओवादीले गर्न खोजेको के हो ? सरकारले बेलैमा समस्या समाधान गरोस्


मंसिर ८, काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।

के हो विप्लवको राजनीति÷क्रान्ति ?
पुष्पकमल दाहाल नेतृत्वको माओवादी, अनि मोहन बैद्य नेतृत्वको माओवादी छोडेर अर्कै माओवादी गठन गरेका विप्लवले पछिल्लो समय क्रान्तिको चेतावनी दिइरहेका छन् ।

हतियारसहितको युद्ध नै गर्नेसम्मको धम्की दिने गरिन्छ । तर अब नेपालमा १० वर्षे जनयुद्ध जस्तै विद्रो सम्भव देखिदैन ।

जतिखेर देशमा संसदीय व्यवस्थाका लागि विभिन्न चरणका चुनावहरु भइरहेका थिए, विप्लव माओवादीका कार्यकर्ताले देशैभरि बम पड्काए ।

कम्युनिष्टको चरित्र भनेकै संसदीय व्यवस्थाको विरोध गर्नु हो । तर नेपालमा त्यही व्यवस्था छ । विप्लवको मूल उद्धेश्य भनेको संसदीय व्यवस्थाको जरो उखाल्ने हो ।

चुनावका बेलामा बम पड्काउने विप्लव समूहले बेलाबेलामा विभिन्न बहानामा नेपाल बन्द गर्दै आएको छ । तर त्यसको प्रभाव छैन ।

आज विप्लव माओवादीले वृहत आमसभा गर्दैछ ।
विप्लव माओवादीले यो संकेत दिएको छ कि ऊ अब प्रधानमन्त्री केपी ओलीका लागि मात्रै नभएर प्रचण्डका लागि पनि चुनौतीको विषय हो ।

शान्तिपूर्णरुपमा विकासको बाटोमा अघि बढ्ने वाम सरकारका सामु अब कुनै पनि समूहगत हिंसात्मक चुनौती छ भने त्यो विप्लव समूहबाटै हुने देखिन्छ ।
माओवादका नाममा हुने हिंसाबाट देशलाई कसरी मुक्त गर्ने ? यसको उपाय खोज्ने जिम्मेवारी पनि अब प्रचण्ड र केपी ओलीकै काँधमा छ ।

विप्लव माओवादीको युवा संघले बिराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा प्रहरीले हस्तक्षेप र्गयो र पूर्वराज्यमन्त्री पदम राई लगायतलाई गिरफ्तार र्गयो ।

आफ्नो शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसैको विरोधमा मंगलबार विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको थियो ।

आज काठमाण्डौमै हुन लागेको आमसभामा के हुने हो त्यो हेर्न बाँकी नै छ ।

विप्लव माओवादीले गरिरहेको राजनीतिक गतिविधि र संगठनात्मक क्रियाकलापबारे अबको सरकारको नीति के हो ? के उसले राष्ट्रिय सम्मलेन लगायतका क्रियाकलाप गर्दासमेत पक्राउ गर्ने सरकारको नीति हो ? के अब विप्लव नेतृत्वको माओवादीलाई सरकारले प्रतिबन्ध लगाउने हो ?

अब केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीबारे ठोस धारणा बनाउन आवश्यक छ । हिंसात्मक लाइन लिएको समूहलाई पनि खुल्ला गतिविधि गर्ने स्वतन्त्रता दिने या प्रतिबन्ध लगाउने भन्नेबारे सरकारले ठोस नीति बनाउनैपर्छ ।

विप्लव नेतृत्वको माओवादी राजनीतिक समूह हो कि आपराधिक ? यसको ठोस किटान सरकारले गर्नुपर्ने देखिन्छ । यदि यो राजनीतिक समूह हो भने उसले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रहरीले धरपकट गर्नु लोकतन्त्र विपरीत हुन जान्छ ।

यदि विप्लव समूह राजनीतिक हैन र आपराधिक नै हो भने उसमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । के गर्ने हो, सरकारले चााडै उपयुक्त निर्णय लिनैपर्ने अवस्था आएको छ ।

सरकारले यसको टुंगो चाँडै लगाएन भने यो समस्या थप जटिल बन्न सक्ने र विप्लवमा नामबाट अन्य समूदले समेत चलखेल गर्न सक्ने सम्भावनाको आँकलन देशका सुरक्षा निकायहरुले पनि गरिसकेका छन् ।