निर्मलाका बुवाको मानसिक सन्तुलन गुमेको आशंका, सरकार किन मौन ?


मंसिर ८, कञ्चनपुर । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा गम्भीर असर परेको छ । उनको हाउभाउ आनीबानी हेर्दा मानसिक सन्तुलन नै गुमाएको जस्तो देखिन्छ ।

केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् ।१३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गर्छन् । पन्तले ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’ भन्ने गरेका छन् ।

पन्तलाई थप उपचारका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काठमाडौं लैजाने तयारी भइरहेको छ । तर, परिवारका सदस्यहरुले निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी भइरहेको छ ।

उनको सामान्य उपचारका लागि चिकित्सकको टोली धर्नास्थल पुगेको थियो ।१० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।