निर्मलाका बाबुलाई विमानमा पठाउन नसकेपछि बेहोस बनाएर गाडीमा ल्याइदै


मंसिर ९, काठमाण्डौ । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याइदैछ । छोरी निर्मलाको बलात्कारी र हत्यारा पत्ता नलागेको भन्दै सरकारलाई दबाब दिन धर्ना बस्दै आएका उनले पछिल्लो समय असामान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि काठमाण्डौ ल्याउन लागिएको हो ।

पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।

यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले लग्न मानेको थिएन ।

सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको हो ।

साथमा निर्मलाका आमा र दुई जना आफन्तलाई गाडीबाट काठमाडौं पठाइएको छ ।

यसअघि चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं पठाउने प्रयास गरिएको थियो तर विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएका थिए ।

छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।

निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।