मंसिर ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापाले केन्द्रिय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन प्रक्रिया सोमबार टुङ्गिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा ऋषि धमलासँग कुरा गर्दै प्रदेश कमिटि गठन प्रक्रिया पनि भोली नै टुङ्गिने बताएका छन् ।
माथिल्लो तहमा एकता भएको धेरै समय भइसक्दा पनि तल्लो तह अस्तव्यस्त भइरहेको थियो । तर अब सबै नेता कार्यकर्ताले जिम्मेवारी पाउने थापाको दावी छ ।
“अब त सबैले जिम्मेवारी पाउनुपर्यो नि । देश र जनताको हितका लागि पार्टी एकता भयो । तर अब यति धेरै नेता कार्यकर्ता सधैँ बेरोजगार बसेर त भएन नि ।” थापाले भने ।
देशमा भएका समस्या समाधानका लागि अझै पनि दलहरु जिम्मेवार बन्न नसकेको थापाले बताएका छन् । “जनताको चाहनाअनुसार काम होस् । यो सरकार ऐतिहासिक होस् । तर प्रधानमन्त्री आफैँ सरकारको कामबाट सन्तुष्ट हुनुहुन्न ।”
पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले पार्टी र सरकारको काम प्रभावकारी बन्न नसकेको थापाको आरोप छ । चुनावका बेला जनतामाझ गरेको प्रतिवद्धताअनुसार सरकारले काम गर्नुको विकल्प नभएको थापाले बताए ।
तर,विचार सोचमा सामन्तवादी नै हावी भएको उनको तर्क छ ।“समस्या के छ त भन्दा सोत्ने शक्तिको तह चाँही माथि उठेन । सामन्तवादी सोचबाट हामी माथि उठ्न सकेनौँ ।”-थापाले भने । सरकार असफलतातिर गएको भए पनि अझै सुध्रिने हो भने सही बाटोमा हिँड्न सकिने थापाले बताए ।




प्रतिक्रिया