आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा फेला

0
Shares

काठमाडौँ,१० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ ।

आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा सुप्रिया खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो ।

आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी बताए ।

झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली आज बिहान घटनास्थल पुगेको थियो ।

घटनास्थलमा भेटिएका सङ्घीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताए। प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासी घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछि मात्र एउटै खाटमा चार जनाको शवको अवशेष भेटिएको जानकारी गराए ।