अमेरिकी लडाकू विमानलाई दक्षिण कोरियाको आकाशमा उडान बन्द

0
Shares

काठमाडौँ,११ मंसिर । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन। दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले जानकारी गराए ।

अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए ।अमेरिकी पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनरल ब्राउनले भने, “हालको कुटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं ।”

अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाजहरु तैनाथ गरेको छ । यी जहाजले उत्तर कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्दछन् । यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् ।

ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको संख्यामा भने कटौती नगरिएको जनाए ।उत्तर कोरियाली नेता कीम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलन पश्चात् अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरिएको छ । एजेन्सी