काठमाडौं, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएका छन् ।
मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले अबदेखि श्रमिकहरुमा काममा प्रतिवद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।
‘जसले समृद्ध देशको परिकल्पना पुरा हुनेछ’ मन्त्री विष्टले योजनाका फाइदाहरुबारे जानकारी दिदै भने ‘परिवारको आर्थिक सुधारमा मद्दत पुग्नेछ । रोजगारदाता, श्रमिक सवैको असुरक्षित यात्राको अन्त्य भएको छ ।’
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया