अन्ततः कमल थापा एक्लो भए, तीन राप्रपा एक हुँदै


काठमाडौं, १३ मंसिर । राप्रपा नेता एवम् पूर्व मन्त्री दिलनाथ गिरीले अब कमल थापाबाहेक तीन वटै राप्रपा पार्टीबीच एकता हुने खुलासा गरेका छन् । बिहीबार विहान नेपाली बहसको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गिरीले राप्रपाका असन्तुष्ट नेताहरुपनि यतिवेला कमल थापाको साथ छोडेर बृहत्त एकता सम्पन्न गर्नेगरि बाहिर आएको सुनाए । डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीृकत राप्रपा राष्टवादी, पशुपति शमशेर जबराले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र कमल थापाले नेतृत्व गरेको राप्रपाका असन्तुष्ट नेताहरुबीच अहिले एकताको लागि छलफल तथा सम्वाद भैरहेको पनि उनले जनाए ।

उनले भने,”असन्तुष्ट साथीहरु हुनुहुन्छ, उहाँहरुको समेत सहभागितामा कहिल्यैपनि पार्टी विभाजन नहुनेगरि गृहकार्य भैरहेको छ । करिब करिब बुद्धिमानजी लगायत केही साथीहरु बाहिर आउनुभएको छ । एकताको लागि हामीबीच अहिले निरन्तर छलफल भैरहेको छ । बुद्धिमानजीहरुको त जबरा, लोहनीसँग पनि छलफल भएको छ । यदि अबको स्थितिमा एकताको अर्को विकल्प छैन् । कोही पनि एकताको विपक्षमा जानुहुँदैन । जो विपक्षमा जान्छ, छुटेकाहरुलाई फेरी ल्याउनेगरि हामी एकताको गृहकार्य गर्दैछौं ।”