मंसिर १३, काठमाण्डौ । केही दिनअघि सरकारले ताझमका साथ सामाजिक सुरक्षा कार्यक्रम सार्वजनिक गर्यो । कार्यक्रमलाई सरकारले प्रचारमुखी बनायो ।
करोडौँको विज्ञापन गरेर ल्याइएको कार्यक्रम आशालाग्दो भए पनि प्रचार शैलीलाई भने कसैले पनि रुचाएन ।
राजधानी काठमाण्डौका सडक छेउका पोल पोलमा प्रधानमन्त्री केपी ओलीको तस्विरसहित लेखिएको थियो–एउटा नयाँ युगको सुरुवात ।
सामाजिक सुरक्षा योजना सार्वजनिक गर्दैमा युग नै नयाँ कसरी हुनसक्छ ? यो सरकारको आत्मरति थियो । त्यसैले कसैले पनि रुचाएनन् ।
प्रसंग जोर–विजोरको
भोलीदेखि हुन लागेको एसिया प्यासिफक समिटलाई लक्षित गरेर सरकारले सडकमा चल्ने सवारी साधन आधा घटाउने नीति लियो ।
भिभिआइपी पाहुना आउने भएकाले सडकमा सवारी साधनको चाप घटाउनका लागि सरकारले आधा मात्रै गाडी चल्न दिने लक्ष्यसहित जोर–विजोर प्रणाली लागु गरेको हो ।
यसअघि पनि धेरै विदेशी विशिष्ट पाहुना आउने कार्यक्रममा यो नियम नलगाइएको होइन । तर यसपटक भने क्रिष्चियन धर्म प्रचार गर्नका लागि भएको भनिएको समिटका कारण सर्वसाधारणले तिब्र असन्तुष्टी पोखे ।
जोर–विजोर प्रणालीको अवज्ञा गर्ने अभियान नै सुरु भइसकेको छ ।
यस्तो देखियो विहिबार

जोर–विजोर प्रणालीको पहिलो दिन थियो विहिवार ।
यसै पनि दिनहुँ सास्ती खेप्ने काठमाडौंका सडक यात्रु विहिबारदेखि लागू भएको जोर–बिजोर सवारी प्रणालीले थप आजित बने ।
बिजोर गाडी मात्रै चल्न पाउने भनिएपछि विहीबार सडकमा आधा गाडी घटे । यसले जामको समस्या त हल भयो । तर, यात्रुको बिचल्ली । चलेका गाडीमा खचाखच भरिँदा पनि कयौं अलपत्र थिए सडकमा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार काम गर्न व्यस्त रहेको बताइरहँदा सास्ती खेपेका जनता भन्दै थिए– ‘यो देशमा सरकार नै छैन ।’
दृश्य यस्तो देखियो कि सडक छेउको पोलमा प्रधानमन्त्रीको नयाँ युग झुण्डिरहेको थियो भने सडकमा जनतालाई कष्ट ।
वृद्धवृद्धा, अशक्त, बच्चा बोकेका महिला, किनमेल गरेर घर फर्किन लागेका उपभोक्ता, स्कुल–कलेजका विद्यार्थीलगायत आम राजधानीबासी घण्टौंसम्म गाडी कुर्न बाध्य बने । तर, चलेका बिजोर गाडीमा खुट्टा राख्नेसमेत ठाउँ रहेन ।
गाडी चढ्न नपाएकाहरु हिँडेर गन्तव्यमा गए । वृद्ध वृद्धा र बच्चा बोकेका महिला कुरिरहे थिए । यही मौका छोपेर ट्याक्सीवालहरुले यात्रुसँग चर्को भाडा असुले ।
नेपालमा हुन लागेको अन्तराष्ट्रियस्तरको कार्यक्रमको व्यवस्थापनका लागि विभिन्न उपाय अपनाउनु सरकारको बाध्यता हो । तर भाषण र प्रचार बढी काम कम गरेकाले पछिल्लो समय सरकार स–साना गल्ती पनि ठूलो जस्तै देखिन थालेको छ ।
जनताको भावनालाई सरकारले बुझ्नै पर्छ । अन्यथा जे गरे पनि जास पाउन नसकिने अवस्था आउन सकिन्छ ।




प्रतिक्रिया