काठमाडौं, १४ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन यतिवेला चिनियाँ लगानीकर्ताहरुसँगको उठबसमा छन् । चिनियाँ लगानी नेपाल भित्र्याउने भन्दै उनी दिनहुँ चिनियाँ व्यापारीहरुसँग उठबसमा व्यस्त छन् ।
सूत्रहरुले दिएको जानकारी अनुसार मन्त्री पुनले पछिल्लो समय चिनियाँ निजी उद्योगपतिहरुसँग समय व्यतित गरिरहेका छन् । चिनियाँ व्यापारीहरुलाई पनि मन्त्री पुनकहाँ गयो भने मात्रै काम बन्छ भन्ने बुझाई परिसकेको छ । स्रोतका अनुसार चिनियाँ लगानीकर्ताहरु अहिले मन्त्री पुनलाई अति नै विश्वास गर्छन् । उनीहरुले नेपालकै प्रतिष्ठित उद्योगपतिहरुसँग भन्ने गरेका छन्,‘नेपाल सरकार विश्वासिला मन्त्री भनेको नै उर्जामन्त्री पुन हुन् ।’
हुन पनि मन्त्री पुनले आफूले चिनियाँ लगानी सुरक्षित गरिदिने र लगानी कुनै पनि हालतमा डुब्न नदिने वचनबद्धता गरेका छन् । नेपालका प्रायः सबै हाईड्रो पावरमा चिनियाँ लगानीकर्ताको सहभागिता गराउने मन्त्री पुनको योजना छ । र, सोही अनुसार अहिले उनी चिनियाँ लगानीकर्ताहरुसँग उठबसमा छन् ।
पुनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनु सरकारको बाध्यता भएको बताउँदै आएका छन् । संसदीय समितिको बैठकमा समेत उनले आफ्नो क्षमताले बनाउन नसक्ने भएकाले चिनियाँ कम्पनीलाई दिनुपरेको स्पष्टीकरण दिएका थिए । नाफामूलक आयोजना नभएकाले जनताको लगानीमा बनाउन पनि नसकिने र सरकारले स्रोत जुटाउन पनि नसक्ने हुनाले चिनियाँ कम्पनीलाई दिनुपरेको मन्त्री पुनको जिकिर छ ।
पुनले नेपालको जलविद्युत क्षेत्रमासमेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राख्दै आएका छन् । उनले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागि नयाँं नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको पनि जनाईसकेका छन् ।




प्रतिक्रिया