धादिङ, १४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दश वर्ष आर्थिक विकास गर्ने योजना बनाइएकाले सबैलाई यसतर्फ क्रियाशील हुन आग्रह गर्नुभएको छ ।
बेनिघाटरोराङ गाउँपालिका–५ चरौँदीमा कृषि पर्यटन तथा औद्योगिक मेलाको आज उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले एक वर्षभित्र विकासका केही काम गरेको र अब चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्ने दाबी गर्नुभयो ।
धादिङ जिल्लाका सबै गाउँपालिकामा पक्की सडक बनाइने, बूढीगण्डकी जलविद्युत्लाई छिट्टै निर्माण शुरु गरेर देशको विकासमा टेवा पु¥याइने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पु¥याइने, तरकारी सुपरजोनका रुपमा जिल्लालाई विकास गर्ने योजना पूर्वप्रधानमन्त्री दाहालले सुनाउनुभयो ।
सांसद खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललगायतले शुभकामना दिनुभएको थियो । नेकपाका अध्यक्ष प्रचण्ड आउने र सम्बोधन गर्ने जानकारी पाएपछि जिल्लाको चेपाङहरुसमेत हजारौँको सङ्ख्यामा सहभागी थिए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल छन् । रासस




प्रतिक्रिया