Logo

महायज्ञमा स्वदेश र विदेशबाट दानवीरको ओइरो



ललितपुर । बिष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि २६ मंसिरबाट ३ पुससम्मका लागि महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा स्वदेश र विदेशमा दान गर्नेहरुको ओइरो लागेको छ ।

नगरपालिकाका स्थायी बासिन्दा भई हाल अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूरोप, मध्यपूर्वका देशलगायतका मुलुकहरुमा अस्थायी बसोबास वा कामका लागि पुगेकाहरुले उल्लेख्य रकम दान गरेका छन् । शुक्रबार अमेरिका बस्दै आएका चारघरे निवासी राम खड्का र अप्सरा खड्काले एक लाख एक रुपैयाँ दान गरेका छन् ।

उनीहरुले हजुरबुवा पदमबहादुर खड्का तथा हजुरआमा झलककुमारी खड्काको सम्झनामा दान गरेका हुन् । स्थानीय राम खड्का समाजसेवीका रुपमा चिनिन्छन् ।

उनले भूकम्पका समयमा पनि भूकम्पपीडितका लागि सहयोग गरेका थिए । यसैगरी अमेरिका बस्दै आएका बिष्णुडोल निवासी कुन्दन पोखरेलले दान घोषणा गरेका छन् । दान घोषणा गर्दै जन्मभूमीका लागि योगदान गर्न पाउँदा गर्ववान्वित भएको बताए । दानवीरहरुमा विदेश बसेकाहरुको उल्लेख्य संख्या देखिएपछि आयोजक कमितिका अध्यक्ष कुबेर केसीले उत्साह व्यक्त गरेका छन् ।

केसीका अनुसार दश लाख नगद संकलन हुनुका साथै धान र चामल पनि उल्लेख्य मात्रामा दान गरिएको छ । हालसम्म दान गर्नेमध्ये ठूला दानवीरहरुमा हामी सबैको यातायात, राम खड्का र अप्सरा खड्का, नातिबाबु केसी र जयन्ती केसी, किशोर थापा गोदामचौर, नकुल थापा चाङ्गथली, ब्लुम नेपाल स्कुल, गोदामे खत्री परिवार, बिष्ट, आचार्य, राई, थापा परिवार, बस्नेत परिवार, कार्की परिवार, सुनिता, कुशल र कुसुम केसी, निर्मला, रेचल तथा लेनिश खत्री, सजित बिष्ट, लक्ष्मी कार्की, पुष्पराज केसी र लीला केसी, गणेश केसी र रेखा बिष्ट, देवचन्द्र केसी, निरु कार्की, आशिष केसी र सुविना थापा, सानोकाजी खत्री र सरस्वती खत्री, बालकुमारी कार्की, बिनोद कार्की, बाबा खड्का, मुकेश खड्का, इच्छाराम खत्री र सानु खत्री रहेका छन् ।

आयोजकका अनुसार दान गर्नेहरुमा महिला र वृद्धवृद्धा बढी देखिएका छन् । ८६ वर्षीय शेरबहादुर खत्रीले तुलादान गरेका छन् । वृद्ध एकल महिला रामप्यारी बस्नेतले स्वर्गीय पति राम बस्नेत र छोरा रोशन बस्नेतको सम्झनामा दान गरेकी छिन् । दान गर्ने वृद्धाहरुमा ८० कटेका सुन्तली खत्री र चिनिमैयाँ खत्री पनि छन् ।

महायज्ञ आयोजक कमिटिका सचिव विवेककुमार कार्कीले लक्ष्यभन्दा माथिको रकम संकलन तर्फ अगाडि बढिरहेको बताए । महायज्ञको शुभारम्भ मंसिर २५ गते पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । महायज्ञबाट संकलित रकम खानेपानी आयोजनाको क्षमता अभिवृद्धिमा खर्च गरिने कार्कीको भनाई छ । महायज्ञमा स्थानीय तहबाट उल्लेख्य रकम संकलन भएपछि आयोजक हौसिएका छन् ।



प्रतिक्रिया दिनुहोस्