Logo

महासमिति बैठकको एजेण्डामा सहमति नभए अलगअलग प्रस्तुत हुन्छ : केसी



मंसिर २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले महासमिति बैठकमा पेश गर्ने एजेण्डाका विषयमा सहमति जुटाउन भगिरथ प्रयास गरे पनि सफल नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दैै केसीले अझै पनि सहमतिका लागि प्रयास भइरहेको बताए ।

सभापति शेरबहादुर र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलले सहमति नजिक भने पुर्याएको केसीले बताए । महासमिति बैठकसम्म सहमति नभए अलग विचार जान सक्ने उनले बताए ।

नेता केसीले एकल नेतृत्वको नाममा स्वेच्छाचारी बन्ने अवसर दिन नहुनेमा जोड दिए ।

कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ । चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ ।

सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो । भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ । मुख्य मानिएको विधानमै किचलो बाँकी छ ।

सबै कम्युनिष्टहरु एकतावद्ध भएका बेला कांग्रेसभित्रको एकता पनि अपरिहार्य भएको केसीको तर्क छ । पदाधिकारीहरु सम्पूर्ण निर्वाचित नै हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको केसीले बताए ।

महासमिति बैठकले पनि कुनै टुङ्गो लगाउन नसके विशेष महाधिवेशनको आवश्यकता पर्ने केसीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्