Logo

विकास र समृद्धिका मुद्दामा प्रतिस्पर्धा हुनुपर्छ : भट्टराई



गोरखा, ५ पुस : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक दलबीच अबको प्रतिस्पर्धा विकास र समृद्धिको मुद्दामा हुनुपर्नेे बताउनुभएको छ ।

‘दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को आज गोरखा सदरमुकाममा उद्घाटन गर्दै डा भट्टराईले भन्नुभयो, “विकासको मुद्दामा अब हाम्रो कुनै झगडा हँुदैन, बरु कसले राम्रो सुशासन दिने, कसले विचार ल्याउने र कसले छिटो विकास गर्ने भन्ने कुरामा प्रतिस्पर्धा हुन्छ ।”

उहाँले गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समाबेशी समृद्धिको मूल आधारस्तम्भ भएको भन्दै त्यसलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

डा भट्टराईले राज्यले उपयुक्त लगानीमैत्री नीति ल्याएर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले गोरखा र धादिङको सिमानामा निर्माण हुन लागेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी आयोजनालाई जसरी पनि निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार परिवर्तन हुने बित्तिकै आयोजनाको मोडालिटी परिवर्तन हुने, कसले बनाउने भन्नेमा विवाद गर्नु गलत छ, यसले आयोजनालाई गति दिँदैन ।” भट्टराईले राष्ट्रिय प्राथमिकताका आयोजनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्