Logo

‘देउवाले महासमिति सदस्यहरुलाई यो जाडोमा कन्तविजोग बनाए’



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेतृत्वले महासमिति सदस्यहरुलाई कन्तविजोग बनाएर राखेको आरोप लगाएका छन् । अहिलेसम्म विधानको मस्यौदासमेत महासमिति सदस्यहरुको हातमा पुर्याउन नसकेको पनि उनको गुनासो छ । यसले गर्दा महासमिति सदस्यहरुमा निराशा छाएको उनको तर्क छ । महासमिति बैठक किन विवादित बन्यो ? अबको निकास के हो त ? भनेर पत्रकार ऋषि धमलाले डा. कोइरालासँग नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’ का लागि विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको अवस्था अहिले कन्तविजोग देखियो नि ?

हो । कन्तविजोग देखिएन भनेर म भन्दिन् । महासमिति बैठक चार दिन चल्ने भनिएको थियो । तर, बैठक लम्बिएको आज चार दिन भयो । हामीहरुले महासमिति सदस्यहरुलाई विधानको मस्यौदा अहिलेसम्मपनि दिन सकेका छैनौं । नेतृत्वहरुको बीचमा रस्साकस्सीले गर्दा विधान दिन नसकेको हो ।

उसो भए विधान कसको कारणले दिन सक्नुभएन ?
मैले त केही माँगेको होईन । केन्द्रिय समितिले एउटै पास गर्छ भनेपनि ठिक हो । हामीले त मस्यौदा पाएका छौं । त्यही डा«फ्टलाई महासमितिमा लगेर छलफल गराएको भएपनि हुन्थ्यो ।

एउटामात्रै मस्यौदा किन जानुपर्यो त ? महासमिति सदस्यहरुलाई बोल्नै नदिने ?
तपाईले भनेको कुरामा खोट लगाउने ठाउँ नै छैन । यो चिसो जाडोमा हामीले महासमिति सदस्यहरुलाई अलपत्र पारेर राखेका छौं । केन्द्रिय समिति पनि बस्न सकेको छैन । नेताहरु एउटा प्रतिज्ञा गर्नुहुन्छ । तर, त्यो प्रतिज्ञाबारे केन्द्रिय समितिबाट निर्णय गराउनुपर्ने हो । फेरी छलफल गर्नुहुन्छ ।

विधान बनाउनको लागि त तपाईहरु धेरै पटक छलफलमा हुनुहुन्थ्यो? यो कुरा त तपाईहरु पहिल्यै गर्न सक्नुहुन्थ्यो नि ?
दिन चार वटा विषयहरु छन् । एउटा ईस्यु के छ भने केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने भन्ने प्रावधान हट्नुपर्छ भनेर अधिकांश सदस्यहरुले राखिरहेका छन् । संविधानमा जे छ, हामीले पनि समावेशिताको आधारमा गरेका छौं । अब समावेशिता तपाईलाई कतिपटक आरक्षण दिने ? उहाँहरु जो समावेशी क्लष्टरबाट आउनुभएको छ, उहाँहरुले त्यो पाईरहनुपर्छ भन्नुभएको छ ।

तपाईजस्तो नेतालेपनि महासमिति बैठकमा आफ्नो प्रस्तुति देखाउन सक्नुभएन ?
महासमिति सदस्यहरुसँग हामीले लविङ गर्ने होईन नि । मैले अहिलेसम्म विशेष महाधिवेशनको कुरा त गरेको छैन । तर, मैले अर्ली अधिवेशनको कुरा गरेको छु । पदाधिकारीको संख्यामा विवाद छ । सभापतिजी अहिले अनिर्णयको बन्दी बनिरहनुभएको छ। सबै पदाधिकारी निर्वाचित हुनुपर्छ । भोट हालेर निर्वाचन हुनुपर्छ । महाधिवेशन प्रतिनिधिले भोट हालेर हुनुपर्छ ।

हिजो विमलेन्द्र निधिले नयाँ प्रस्ताव अघि सार्नुभएको छ ?
उहाँहरुले सारेको प्रस्ताव म मान्दिन् । त्यसलाई चिर्नुपर्छ । म त नोट अफ डिसेन्ट लेख्छु । किन मनोनित चाहियो ? मजाक गर्ने हो त ? सभापतिले मिलाउन सक्नुहुन्न भने नेतृत्व छोड्नुपर्यो ।

तर, नेपाली कांग्रेस अनिर्णयको बन्दी बनिरहेको छ ?
महासमिति सदस्यहरुको अहिले दर्दनाक अवस्था देखेको छु । विधानको डकुमेन्ट लिएर जानुभयो भने उहाँहरु खुशी हुनुहुन्छ । त्यो अवस्था आउँदैन कि भन्ने उहाँहरुलाई डर छ ।

यदि विधान पारित भएन भने के हुन्छ ?
७७ जिल्लाका सभापतिहरुले बोल्नु भएको छैन । जिल्ला सभापतिहरुलाई केन्द्रिय सदस्यहरुले केही पनि होईनन भनेर ठान्नुभएको छ भने त्यो गम्भिर गल्ती हो । जिल्ला सभापतिहरु हाम्रो लागि धेरै महत्वपूर्ण साथीहरु हुनुहुन्छ ।

तर, सभापति देउवा पक्षधर नेताले सहमति नभए पूरानै विधान लागु हुन्छ भन्नुभएको छ नि ?
कसरी पूरानो विधान लागु हुन्छ ? के वाहियात कुरा गरेको ? संख्याको कुरा उहाँहरुले पूरानो विधान खोज्नुभएको हो भने गर्नुहोस न । आँट गर्नुहोस त त्यो पनि ल्याएर । त्यो कुरा नेतृत्वले महासमितिमा किन पेश गर्न नसकेको ? किन केन्द्रिय समितिमा पेश गर्न नसकेको नेतृत्वले ? म त अब नेतृत्वलाई दोष दिन्छु । यो लम्ब्याएर महासमिति सदस्यहरु त घर जान थालिसक्नुभयो । त्यसले के सन्देश जान्छ ?

उता रामचन्द्र पौडेलले पनि २०७६ सालमै महाधिवेशन गर्नुपर्छ भनेर नयाँ प्रस्ताव ल्याउनुभएको छ नि ?
त्यो त म पहिलेदेखि नै भन्दै आएको छु । मैले भनेको अर्ली अधिवेशन पनि त्यही हो । शेरबहादुरजी त लम्ब्याउन चाहनुहुन्छ भनेर उहाँकै मुखबाट बोलिरहनुभएको छ । एक वर्ष थपिन्छ भनेर देउवाजीका ग्रुपका साथीहरु भन्दै हुनुहुन्छ । म त शुरुदेखि नै भन्दै आएको छु की समयमै अधिवेशन हुनुपर्छ । सभापति बलियो भएर हुन्छ ? कांग्रेस त कमजोर भैसक्यो । विधानमा चार वर्षको लागि कार्यकाल छ । कार्यकाल पूरा गर्न फागुण, २०७६ भित्र काम गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्