Logo

‘निर्मला पन्तको बलात्कारी कुनै हालतमा उम्किन पाउदैन’ (भिडियोसहित)



प्रदेश नम्बर का मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधी कुनैपनि हालतमा उम्किन नपाउने दाबी गरेका छन् । मुख्यमन्त्री भट्टसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’मा विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ मुख्यमन्त्री भट्टसँगको कुराकानीको सम्पादित अंश :

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बित्यो तर हत्यार पत्ता लागेन नि ?
त्यो घट्ना निक्कै दुःखद छ । प्रदेश सरकारले निर्मलाका हत्यारालाई पत्ता लगाउने काम गरिरहेका छन् । संघीय सरकारले पनि हेरिरहेको छ । त्यो घटनाको नजिक रहेर अनुसन्धान गर्ने काम, संघीय सरकारलाई समन्वय गर्ने काम हाम्रो हो । त्यो गरिरहेका छौं ।

प्रदेश सरकारले निर्मला हत्यारा पत्ता लगाउन सकेन असफल भयो भनेर आरोप लागेको छ, तपाई यो कुरा मान्नुहुन्छ ?
त्यसो भन्दा पनि प्रदेश सरकारले निर्मलाका हत्याराको बारेमा निरन्तर खोजी कार्य जारी राखेको छ । परीणाम पाएको भने छैन् । हामीले काम गरिरहेका छौं । राजनीतिक पूर्वाग्रही रुपमा आरोप लगाउने काम पनि नभएका होइनन् । हामीले परिणाम नआउँदा जनताले आवाज उठाएका छन् । बलात्कारी कुनैपनि हालतमा उम्किन पाउँदैन ।

निर्मला पन्तको हत्यारा प्रदेश सरकारभन्दा शक्तिशाली रहेछ है ?
होईन । अपराधि कोही पनि शक्तिशाली हुँदैन । अपराधी कानूनको कठघरामा आउँछ । ल्याएर छोड्छौं । अनुसन्धान गर्नुपर्ने तरिका, समय अनेक कुराहरुले अपराधी पत्ता लगाउने केही समय लागेको हो । अनुसन्धान प्रक्रियालाई अहिलेको आवश्यकता, अहिलेका समयअनुसार अघि बढ्नुपर्छ ।

निर्मलाका हत्याराले दुई तिहाईको सरकारलाई हल्लायो नि ?
हो सरकारलाई हल्लाएको छ । चौतर्फी बिरोध गरेका छन् । जनताले सरकारलाई अभिभावक सम्झेरनै बिरोध गरेका हुन । अपराधी छिटो पत्ता लगाउ भनेका हुन । अनुसन्धानमा केही समय लागेको छ । केही समय लाग्छ । अपराधीले उन्मुक्ति पाउँदैन ।

२० वर्षपछि निर्मलाको हत्यारा पक्राउ गर्दा निर्मलाको लागि न्याय हुन सक्ला त ?
त्यति परसम्म नजाउँ । निर्मलामात्रै होईन । पीडितका आवाजहरु सम्बोधन हुन्छन् ।

निर्दोष मानिसलाई यातना दिने गर्नुहुन्छ ? अनि अपराधि करार गर्नु हुन्छ ?
छानविनको क्रममा यस्तो भएको हो । यसलाई अन्यथा लिनुहुँदैन ।

बलात्कारीलाई पत्ता लगाउन नसक्नुको खास कारण के हो ?
सरकारले आफ्नो सबै शक्ति लगाएर काम गरिरहेको छ । निर्मला पन्तले न्याय पाउँछिन् । केही समय लाग्न सक्छ । यो कुरा मैले निक्कै दुःखका साथ भन्दैछु । यही मितिमा बलात्कारी पत्ता लाग्छ भनेर भन्न सकिन्न ।

राजनीतिक दलका मानिस वा आफन्तको संलग्नता रहेको भएर अनुसन्धान परिणाममा परिणत नभएको हो की ?
जो कोही भएपनि कानूनको भागिदार हुन्छ । उसलाई कानूनबमोजिम कारबाही हुन्छ । यसमा ढुक्क हुन आग्रह गर्दछु ।

तपाईको पार्टीका मानिसहरुको संलग्नता भएको थियो कि ?
त्यो अनुसन्धान र हत्यारा पत्ता लागेपछि थाहा हुन्छ । जोसुकै भएपनि कारबाही हुन्छ । हत्यारा कानूनी दायरामा आउँछ । अपराधीलाई उन्मुक्ति दिन कुनैपनि हालतमा हुँदैन । छानविन प्रक्रिया अघि बढेको बेला म कञ्चनपुरमा पुगेको थिएँ । त्यतिबेला पनि बलात्कारीलाई तत्काल समातेर जेलमा कोच्नुहोस भनेको थिएँ ।

पाँच महिनापछि निर्मला काण्ड झन् रहस्यमय बन्यो नि ?
अनुसन्धानमा समय लागेको हो । यसलाई नकार्न मिल्दैन । पुरानो जमानाको कुरा होईन । आजको समयमा हत्यारालाई जोगाउन को लाग्यो ? के गर्यो ? भन्ने कुरा लुकाएर लुक्छ र ? सत्य कुरा सबै बाहिर आउँछ । मैले अनुसन्धान भैरहेको बेलामा हत्यारा यो होला ! अनुसन्धान यहाँसम्म पुगेको छ भनेर भन्न मिल्दैन । सुदुरपश्चिमको यो घट्नाले पुरै देशमा समाचार पायो । अपराधी पनि पक्राउ गर्न समयमा सकिएन । अन्य केही अपराधीहरुलाई सरकारले तत्काल पक्राउ गरेको छ ।

ठूला नेताहरुको संलग्नता छ भन्छन नि ?
यो अनुसन्धान भैरहेको बेला सत्य मान्न मिल्दैन । अपराधी पत्ता लागेपछि मात्रै भन्न मिल्छ । बिरामी एउटा औषधी अर्को खुवाउदा के परिणाम आउछ ?



प्रतिक्रिया दिनुहोस्