Logo

विवेकशील साझाभित्र खटपट



काठमाडौं १९ पुस । वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो ।

१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

एक सदस्यले एकीकरणपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरूले उचित स्थान नदिएको आरोप लगाए । पार्टीभित्रको अनुदारताका कारण केही सदस्य निष्क्रिय बनेको र केहीले पार्टी छाडेको जनाउँदै उनले भने,‘निर्णय प्रक्रियामा सामूहिक सहभागिता कमजोर बन्दै गएको छ ।’

संयोजक थापाले पनि प्रतिवेदनमा संघीय निर्वाचनपछिको एक वर्षमा ४ केन्द्रीय सदस्यले राजीनामा दिएको र एक जनालाई बर्खास्त गरिएको उल्लेख गरेका छन् । सरोज धिताल, दिनेश प्रसाईं, रेशु अर्याल र ओम अर्यालले पार्टी छाडेका हुन् ।

थापाले पार्टीका काम समानान्तर रूपमा नभई सीमित नेतृत्वको गतिमा चल्नुपर्ने परिस्थिति बनेको जनाएका छन् । उनका अनुसार पार्टीका केन्द्रीय विभागहरू निष्क्रिय छन् । एकीकरणका बेला बनाइएको ३२ बुँदे सम्झौतापत्रमा भनिएका काम गरिएका छैनन् । राम्रो सूचना प्रवाह नहुँदा शंकाको घेरामा बसेका दलका सदस्यले फरक विचार र कार्यशैली राख्नेलाई ‘खुइल्याउने’ प्रवृत्ति देखिएको थापाको टिप्पणी छ । नेतृत्वमा ‘म प्रवृत्ति बढी र हामी प्रवृत्ति कम’ देखिएको जनाउँदै उनले पार्टीभीत्र नियमसंगत तरिकाले काम हुन नसकेको उल्लेख गरेका छन् । १६ महिनामा पनि सातै प्रदेशको संयोजक तोक्न नसकेको, दलको प्रादेशिक संरचना अधुरो देखिएको उनले जनाएका छन् ।

पार्टी विधानमा प्रत्येक महिनाको खर्च तथा आय विवरण पारदर्शी तरिकाले दलको वेबसाइटमा राख्ने उल्लेख भए पनि पालना नभएकोमा पार्टीभित्र असन्तुष्टि देखिन्छ । मंगलबार साँझसम्म पार्टीको वेबसाइटमा असारदेखि साउनसम्मको त्रैमासिक आयव्यय विवरण मात्रै राखिएको छ । एक सदस्यले भने, ‘अरू दलमाथि आर्थिक पारदर्शिताको कुरा गर्ने दलभित्रै यस्तो अवस्था भएपछि टिप्पणी हुनु स्वाभाविकै हो ।’ अर्का संयोजक रवीन्द्र मिश्रले केन्द्रीय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाललाई बढी च्यापेको र उनीहरू नै नीति निर्णयमा बढी हाबी भएको असन्तुष्ट पक्षको आरोप छ ।

यसबारे मिश्रसँग टिप्पणी लिन खोज्दा अस्वीकार गरे । ‘पार्टीभित्रको कुरा हो भने प्रवक्ता सूर्यराज आचार्यसँग बुझ्नुहोला,’ उनले भने । आचार्यले थापाको प्रतिवेदनलाई पार्टीको विधि, नियम र कार्यविधिभन्दा बाहिर गएर गरिएको अवाञ्छित गतिविधि बताए । ‘संयोजक भनेको प्रश्न सोध्ने पद होइन । उत्तर दिने पदमा बसेको व्यक्तिले सार्वजनिक गरेको प्रतिवेदनले अन्योल सिर्जना गरेको छ,’ उनले भने । आचार्यले प्रतिवेदनमा समेटिएका कतिपय विषय पार्टीभित्रै बहसमा रहेको र कतिपय सान्दर्भिक पनि रहेको बताए । ‘प्रतिवेदनमा कतिपय अपुरो र भ्रमपूर्ण व्याख्या पनि छन्,’ उनले भने । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्