Logo

प्रसूतिगृह सरकारले निर्माण गर्नेः उपप्रधानमन्त्री यादव



काठमाडौँ,१९ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जिल्लाकोले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ ।

सप्तरी जिल्लाको राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै उहाँले अगामी फागुन १ देखि नेपाली सेनासँगको सहकार्यमा सोही अस्पतालमा वृहत निःशुल्क स्वास्थ शिविर आयोजना गरिने पनि बताउनुभयो ।

सोही शिविरको पूर्वतयारीका लागि यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा पाउन स्थानीयवासीले नै उचित वातावरण बनाउनुपर्ने र सोही बमोजिम सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिविर सञ्चालनका लागि खटाइएका चिकित्सकमध्ये को–को आए र को–को आएनन् सोको सूची तयार गरी यथाशीघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई बिदा नदिन उहाँले निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री यादवले फागुन १ गतेदेखि शुरु हुने एघारदिने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका बिरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उहाँको भनाइ थियो ।

निकट भविष्यमै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुनलागेको जानकारी दिँदै स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोओन् भन्ने चाहनाका साथ सरकारले काम गरिरहेको पनि उपप्रधानमन्त्री यादवले जानकारी दिनुभयोे ।

नेपाली सेनाका उपरथी डा शशी राईले ११ दिने शिविरमा सेनाका विशेषज्ञ चिकित्सक खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवासमेत प्रदान गरिने जानकारी दिनुभयो । शिविरमा विरामी जाँच, उपचार र औषधि सबै निःशुल्क प्रदान गरिने उहाँले बताउनुभयो ।

अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य शिविर नगरमा आयोजना हुनलागेकामा प्रशन्नता व्यक्त गर्दै नगरप्रमुख शम्भुप्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा “संविधान संशोधनको एजेण्डा यथावत छ, अवस्था पनि सकारात्मक बन्दै गएको छ”, उपप्रधानमन्त्री यादवले भन्नुभयो, “जसले जबर्जस्ती गरे, तिनीहरुलाई पनि संविधान संशोधन नगरी हुन्न भन्ने महासुस भएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्